काठमाडाैं । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएकाे छ ।
एकीकृत समाजवादीकातर्फबाट आर्थिक मामिलामन्त्री रहनुभएका सांसद् नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर सरकारमा नबस्ने जानकारी गराउनुभएकाे हाे । यसबारे उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।
सरकारलाई दिएकाे समर्थन फिर्ता लिन एकीकृत समाजवादी संसदीय दलकाे बैठक केहीबेरमा बस्दैछ । सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादीका ४ जना सांसद् छन् । संघमा एमालेसहितकाे नयाँ गठबन्धनमा आबद्ध हुँदै एकीकृत समाजवादी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारमा सहभागी भइसकेकाे छ ।
माओवादी केन्द्रले बुधबार नै सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे थियाे । याेसँगै मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेकाे छ । मुख्यमन्त्री शाहसँग अब २६ जना सांसद्काे मात्रै समर्थन रहन्छ । उहाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र १ जना गरी २६ जना सांसद् मात्रै समर्थन छ । ५३ सदस्यीय प्रदेश सभामा सरकारको बहुमतका लागि २७ सांसद् आवश्यक पर्छ ।
नागरिक उन्मुक्ति अझै सत्ता गठबन्धनमा सहभागी नभएकाले सुदूरपश्चिममा सरकार बनाउन नयाँ गठबन्धनलाई पनि बहुमत पुग्ने देखिँदैन । सुदूरपश्चिम प्रदेश सभामा माओवादीका ११ र एमालेका १० जना सांसद् छन् । यहाँ नागरिक उन्मुक्ति पार्टी निर्णायक हुने देखिन्छ ।
