काठमाडाैं । प्रमुख सत्ता साझेदार नेकपा एमालेले नयाँ गठबन्धन बन्दा नेपाली कांग्रेसमा गहिराे पीडा, बेचैनी र छटपटी देखिएकाे बताएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले उपाध्यक्ष एवं सांसद् विष्णु पाैडेलले संवैधानिक प्रबन्धअन्तर्गत चालिएको कदमलाई सहज रूपमा लिनुकाे सट्टा कांग्रेस छटपटीएकाे बताउनुभयाे ।
आफू भन्दा अघि बाेल्नुभएकाे कांग्रेस प्रमुख सचेतक रमेश लेखककाे सम्बाेधनमा कांग्रेसकाे छटपटि प्रष्ट रुपमा देखिएकाे उहाँले बताउनुभयाे । सांसद् पाैडेलले यसअघिकाे गठबन्धन चल्न नसकेकै कारण नयाँ गठबन्धन बनेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'रमेश लेखकजीले कलात्मक शैलीमा आफ्नाे, कांग्रेसकाे कुरा राख्नुभयाे, याे प्रकारकाे परिवर्तनलाई सहज रुपमा लिनुपर्छ पनि भन्नुभयाे, तर कांग्रेसलाई कति गहिराे चाेट लागेकाे रहेछ भन्ने पनि सँगसँगै अभिव्यक्त गर्नुभयाे ।'
याे तहकाे कांग्रेसकाे पीडा, छटपटी, बेचैनाी र आक्राेश व्यक्त गर्नुपर्ने अवस्था नरहेकाे समेत सांसद् पाैडेलले बताउनुभयाे । अहिलेकाे संवैधानिक व्यवस्था अनुसार कुनै पनि दलले बहुमत ल्याउने नसक्ने भन्ने नरहेकाे भन्दै उहाँले ०८४ काे चुनावमा याे परिदृश्य नदाेहाेरिने बताउनुभयाे । सांसद् पाैडेलले भन्नुभयाे - 'कहिल्यै पनि, कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने मलाई लाग्दैन, सक्छन्, सक्छाैं, यहाँले हेर्दै गर्नुभए हुन्छ, ०८४ को निर्वाचनमा यस्तै परिदृश्य दोहोरिने छैन, जरुर त्यति सहज छैन, जनतामा नयाँ प्रकारकाे आशा र विश्वास जगाउन सक्ने, राष्ट्र र जनताका सराेकारलाई आफ्नाे एजेण्डा बनाउने दलहरुले मात्र बहुमत आर्जन गर्न सक्ने प्रबन्ध छ, त्याे अभिभारा दलहरुका सामु छ ।'
कुनै दलले बहुमत नपाउँदा दलहरु मिलेर सरकार बनाउन सक्ने अधिकार संविधानले दिएकाे भन्दै उहाँले संविधानले दलहरुलाई मिलेर सरकार परिवर्तन गर्ने अधिकार पनि दिएकाे बताउनुभयाे । सांसद् पाैडेलले भन्नुभयाे - 'त्याे बाटाे हिँड्न हामी पाउँछाैं कि पाउँदैनाैं ? कि त सहकार्य गर्न गठबन्धन बनाउन त पाइन्छ केबल नेपाली कांग्रेससँग मात्रै भनेर संविधानमा लेखिनुपर्थ्याे ? याे परिवर्तनलाई ओठे अभिव्यक्तिका रुपमा हाेइन, स्वभाविक संसदीय अभ्यासका रुपमा लिनुपर्छ ।'
कांग्रेसकाे एउटा नेतामा त यति धेरै पीडा र आक्राेश छ भने समग्र कांग्रेसमा कति पीडा हाेला भन्ने अनुमान गर्न सकिने उहाँले बताउनुभयाे । नयाँ राजनीतिक सहयात्रालाई सहज, स्वभाविक र संवैधानिक रुपमा चालिएकाे कदमका रुपमा लिन कांग्रेसलाई सांसद् पाैडेलले आग्रह गर्नुभयाे । 'छटपटी र बेचैनीले हामीलाई कहिँपनि पुर्याउँदैन, धैर्यता, सुझबुझ आवश्यक पर्छ राजनीतिमा'- उहाँले भन्नुभयाे ।
नयाँ सत्ता गठबन्धन निर्माणपछि पहिलोपटक बिहीबार बसेकाे बैठकमा उहाँले कांग्रेसले प्रधानमन्त्री पद बाँड्दै हिँडेकाे चर्चाले पनि कांग्रेसकाे छटपटि छरपस्ट भएकाे बताउनुभयाे ।
पुर्नगठित मन्त्रिपरिषद्मा अनुभवि र उर्जाशील मन्त्रीहरु रहेकाे भन्दै सांसद् पाैडेलले साेही टिमलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एउटा अठाेटसाथ अघि बढ्नुभएकाे बताउनुभयाे ।
