काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि बढ्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् पाैडेलले वर्तमान सत्ता गठबन्धन प्रतिनिधि सभाकाे कार्यकालभर चल्ने बताउनुभयाे ।
सपनाका लड्डु नदेखाउने नेपाली कांग्रेसलाई उहाँले चेतावनी समेत दिनुभयाे । 'सपनाका लड्डु कसैले नदेखाऔं, याे गठबन्धन फुट्छ कि केही हुन्छ कि भन्ने अपेक्षा तपाइँहरुले गर्नु त स्वभाविक हाे, यो गठबन्धन बाँकी ४ वर्ष निरन्तर जान्छ, अगाडि बढ्छ, कसैले तोड्न सक्दैन, हिजो तोडेर गल्ती भयो, मुलुकले स्थायित्व प्राप्त गर्न सकेन, मुलुकलाई स्थायित्व दिन फेरि गठबन्धन गरेका छौँ'- सांसद् पाैडेलले भन्नुभयाे ।
अनुभव प्राप्त र सरकारलाई झकझकाउने दल सरकारमा सहभागी हुनुले सरकारकाे निरन्तरतालाई बल पुगेकाे उहाँले बताउनुभयाे । याे सरकारले गति प्राप्त गर्ने विश्वास समेत सांसद् पाैडेलले व्यक्त गर्नुभयाे ।
सदनलाई सक्रिय बनाउने, अधुरा काम पूरा गर्ने, कानुन बनाउने, संघीयता कार्यान्वयन लगायत विषयमा प्रधानमन्त्रीले उथलपुथल नै गर्ने समेत उहाँले बताउनुभयाे । जसले बहुमत जुटाउन सक्छ उसले सरकार चलाउन सक्ने कुरा स्वभाविक भएकाे समेत सांसद् पाैडेलले बताउनुभयाे ।
प्रधानमन्त्रीलाई काम गर्न दिन रचनात्मक भूमिका खेल्न प्रतिपक्ष नेपाली कांग्रेसलाई उहाँले आग्रह समेत गर्नुभयाे ।
देशकाे अवस्था केही जटिल रहेकाे भन्दै उहाँले युवाहरुले नयाँ कामकाे अपेक्षा गरेका बताउनुभयाे । सांसद् सरकारले देश र जनताकाे पक्षमा आशालाग्ने तरिकाले काम गर्नुपर्ने बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले लगाएकाे राजनीतिक बेइमानीकाे आराेपप्रति उहाँले असन्तुष्टि जनाउनुभयाे । उथलपुथल भन्ने प्रधानमन्त्रीकाे अभिव्यक्तिबाट काेही आतंकित हुन नपर्ने समेत सांसद् पाैडेलले बताउनुभयाे । राष्ट्रपति चुनावमा कांग्रेसलाई सघाउन प्रधानमन्त्रीले खेलेकाे भूमिकाकाे बेवास्ता गर्दै अनेक आराेप लगाउनु उचित नहुने समेत उहाँले बताउनुभयाे ।
कांग्रेसले गरेकाे ७ साल, १७ सालकाे कुरा आफूहरुले नउठाएकाे भन्दै सांसद् पाैडेलले आफूहरुले पनि देशकै आवश्यकताका लागि जनयुद्ध थालेकाे दाबी गर्नुभयाे । गिरिजाप्रसाद काेइरालाले प्रचण्डलाई देशकाे जिम्मेवारी सुम्पिएर जानुभएकाे समेत उहाँले दाबी गर्नुभयाे ।
