काठमाडाैं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सहयात्री दलहरुलाई धाेका नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै प्रमुख सचेतक चाैधरीले सहयात्री दल विशेषगरी आफ्नाे पार्टीलाई नछाेड्न समेत प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभयाे ।
आफूहरुले प्रधानमन्त्रीलाई सधैं साथ दिइराख्ने समेत उहाँले बताउनुभयाे । 'ती सहयात्री दलले साथ देलान् नदेलान् तर एकीकृत समाजवादीले तपाइँलाई साथ दिइराख्छ किनकी हामी बदला पनि लिँदैनाैं, इगाे पनि राख्दैनाैं, तपाइँलाई प्रधानमन्त्री बन्न अंक पुर्याइदिइराख्छाैं, तर जसकाे जगमा प्रधानमन्त्री बन्नुभएकाे छ ती राजनीतिक दललाई सँगै राख्नुहाेला, उनीहरुले साथ दिन्छन् पक्का, तर तपाइँले उनीहरुलाई नछाेड्नुहाेला' - सांसद् चाैधरीले भन्नुभयाे ।
प्रत्येक पटक सहयात्री दललाई पुन अर्काे समीकरण बनाउने तर प्रधानमन्त्री चाहिँ आफू भइरहने कुराले राजनीतिक दलहरुप्रति विश्वसनियता गुमेकाे उहाँले बताउनुभयाे । यसअघिकाे गठबन्धनमा गरेकाे सहमति र सम्झाैता हाँसाेकाे पात्र र खरानीकाे डल्लाे भएकाे भन्दै चाैधरीले याे विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयाे ।
गठबन्धन ताेड्दै हिँड्ने आफ्नै शैलीमा ब्रेक थ्रु गर्न समेत सांसद् चाैधरीले आग्रह गर्नुभयाे । ३ पटक गठबन्धन फेर्दा आफूहरुले केही सुइँकाे नपाएकाे उहाँले बताउनुभयाे । 'हामी त साथ दिइराख्छाैं कम्युनिष्ट पार्टीसँग जाेडिएका छाैं, तपाइँलाई अंक पुर्याइदिने मान्छे, हामीबाट कुनै धाेका हुँदैन, धाेका चाहिँ नदिनुहाेला, हामीलाई छाेडेर नजानुहाेला, यहाँ त हामी साथमै छाैं कतिखेर छुट्छाैं थाहै हुँदैन, तपाइँकाे उन्नती प्रगति हाेस्, विचरा हाम्राे माधव नेपाल सधैं प्रचण्डकाे सरकार बनाेस् भन्ने चाहानुभएकाे छ, सुतिराखेकाे बेला छुटेकाे थाहै हुँदैन गज्जब छ'- सांसद् चाैधरीले भन्नुभयाे ।
प्रधानमन्त्रीमा देखिएकाे हुटहुटी देखाउनका लागि मात्र नहुने भन्दै उहाँले स्वार्थ केन्द्रित राजनीति नगर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे ।आफ्नाे कुर्सी जाेगाउन सहयात्री दल फेर्ने मन्त्री फेर्ने तर आफू फेरिने काम कसैले गर्न नहुने बताउनुभयाे ।
