काठमाडाैं । राष्ट्रिय सभाकाे अध्यक्षमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सांसद् नारायण प्रसाद दाहाल निर्वाचित हुनुभएकाे छ ।
मंगलबार भएको चुनावमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।
बैठकमा भएको मत विभाजन प्रक्रियाबाट दाहाललाई राष्ट्रिय सभा अध्यक्ष निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएकाे हाे । बैठकमा ५६ जना सांसद् उपस्थित भएकाेमा साे प्रस्तावको पक्षमा ३९ र विपक्षमा १७ मत परेकाे राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले बैठकलाई जानकारी गराउनुभयाे ।
उहाँ माओवादी केन्द्र, नेकपा एमाले लगायत सत्तारुढ दलकाे समर्थनमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बन्नुभएकाे थियाे । दाहालले माओवादीकाे १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मत पाउनुभयाे । उहाँलाई राष्ट्रपतिबाट मनोनित सांसद् वामदेव गौतमले पनि मत दिनुभयाे ।
चारवर्षे कार्यकाल रहेका चितवनका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट ०७८ चैतमा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएकाे थियाे । दाहाल ०६३ मा अन्तरिम व्यवस्थापिका संसद् सदस्य बन्नुभएकाे थियाे । ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन-३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
कांग्रेसका शर्माकाे पक्षमा भने मात्र १७ मत पर्याे । कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद्ले शर्मालाई मत दिए ।
राष्ट्रिय जनमोर्चाका सांसद् तुलप्रसाद विश्वकर्माले भने तटस्थ रहे । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक सिट रिक्त हाल रिक्त छ ।
राष्ट्रिय सभाकाे अर्काे बैठक बस्नेछ ।
