काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाेकतान्त्रिक प्रक्रियाबाट राजनीतिक समीकरण बदल्दा कसरी विश्वासघात भएँ भनेर नेपाली कांग्रेसलाई प्रश्न गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा विश्वासकाे मत माग्ने प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार गठन राजनीतिक प्रक्रिया मात्रै भएपनि कांग्रेसले अराजनीतिक व्याख्या गरेकाे भन्दै असन्तुष्टि जनाउनुभयाे ।
सरकार सञ्चालनमा अवराेध आएकै कारण राष्ट्रकाे बृहतर हितका लागि समीकरण बदल्नु परेकाे उहाँले बताउनुभयाे । 'सरकार पुर्नगठन गर्नुपर्ने अवस्था आयाे, मैले १ वर्ष पुगेकाे अवसरमा विकासकाे गतिबाट सन्तुष्ट छैन भनेकै थिएँ, सरकार गठन राजनीतिक प्रक्रिया मात्रै भएपनि नेपाली कांग्रेसका केही साथीहरुले बडाे अराजनीतिक व्याख्या गर्नुभयाे, ममाथि निजी आक्षेप र आक्रमण गर्ने प्रयास गर्नुभएकाे छ, विश्वासघात र बेइमानीकाे आराेप लगाइएकाे छ, यसकाे विस्तारपूर्वक जवाफ दिन चाहान्नँ, निजी आराेप र प्रत्याराेपका लागि याे सार्वजनिक संसद् उपयुक्त ठाउँ हाेइन'- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
संसद्मै रेकर्ड रहेकाे आराेपकाे प्रतिवाद नगर्ने हाे भने इतिहासमा गलत सन्देश जाला भन्ने चिन्ताले नै आफूले कांग्रेसलाई जवाफ दिएकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'निजी आराेप र प्रत्याराेपका लागि याे सार्वजनिक संसद् उपयुक्त ठाउँ हाेइन, तर संसद्मा रेकर्डमै आराेपकाे प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाला भन्ने चिन्ताले संक्षेपमा केही कुरा राख्दैछु - कांग्रेसका नेताले यही राेष्टममा उभिएर मलाई राजनेता भन्नुभएकाे थियाे, त्यही राजनेता संविधान अनुसार राजनीतिक मान्यताका आधारमा राष्ट्रकाे बृहत्तर हितलाई केन्द्रमा राखेर, राजनीतिक मुद्दा र एजेण्डालाई केन्द्रबिन्दुमा राखेर देशका जनतामा नयाँ आशा र विकासकाे गति लिने संकल्पसहित मैले लाेकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धाेकेबाज कसरी भएँ ?'
कांग्रेसले आफ्नाे महासमिति बैठकमा समेत गठबन्धनमाथि प्रहार गरेकाे भन्दै उहाँले असन्तुष्टि जनाउनुभयाे । आगामी चुनाव एक्लै लडेर बहुमत ल्याउन समेत प्रधामन्त्री प्रचण्डले कांग्रेसलाई शुभकामना दिनुभयाे ।
