काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन बन्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफ्नाे भूमिका रहेकाे प्रष्ट पार्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा विश्वासकाे मत माग्ने प्रधानमन्त्रीकाे प्रस्तावमाथि बाेल्दै अध्यक्ष ओलीले गठबन्धन बदल्नुमा मुख्य भूमिका प्रधानमन्त्रीकाे रहेकाे र त्यसमा आफूले साथ दिएकाे बताउनुभयाे ।
अहिलेकाे गठबन्धन अरु कसैले नबनाइदिएकाे प्रष्ट पार्दै उहाँले भन्नुभयाे - 'कांग्रेस मात्रै हाेइन अरु छरछिमेकका मित्रहरु सरकार परिवर्तन, हाम्राे देशभित्रका काममा त हामीलाई जस दिए हुन्छ नि, काे आयाे कुन देश आयाे कहाँ अरुलाई जस दिएकाे ? प्रचण्डजी मुख्य हाे, साथ दिने म पनि हाे, हामी दुई भाइलाई जस दिएपनि हुन्छ नि ।'
गत साल प्रचण्डलाई आफूले प्रधानमन्त्री बनाएकाे तर कांग्रेस हाैसिएर विश्वासकाे मत दिएकाे अध्यक्ष ओलीले बताउनुभयाे । पाेहाेर विश्वासकाे मत दिने अहिले किन नदिने भन्दै उहाँले भन्नुभयाे - 'पाेहाेरसाल मैले प्रस्ताव गरेर पुष्पकमल दाहालजीलाई प्रचण्डजीलाई प्रधानमन्त्री बनाएकाे थिएँ, कांग्रेस भाेटै नमागीकन हतारिएर हाैसिएर नयाँ ब्याट्रि हालेजस्ताे थियाे, समर्थन गरेकाे थियाे अहिले चाहिँ किन समर्थन नगर्ने ? पाेहाेर समर्थन गर्न हुने अहिले के भयाे फेरि ? मान्छे उही, पाेहाेर पनि त्यसबेलामा सरकारमा थिएन ।'
रमेश लेखकाे भाषण सुन्दा त कांग्रेसले छलछाम र धाेका दिने नै हाेइन जस्ताे लागेकाे भन्दै उहाँले व्यंग्य गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'एमाले र कांग्रेस मिलेर र ठूलठुला काम गरेकाे तर कांग्रेसले राम्रा कामकाे जस आफूमात्रै लिने गरेकाे बताउनुभयाे । 'हामीले सँगै मिलेर ठूलठुला काम गरेका छाैं, तर राम्राे कामजति सबै आफूले गरेकाे भन्छ कांग्रेसले, अरुलाई एक छेउ जस दिन्छ ?'- उहाँकाे प्रश्न छ ।
कांग्रेसले कैयाैं पटक सहमति ताेडेकाे भन्दै अध्यक्ष ओलीले कांग्रेसले इमानका कुरा गर्न नसुहाउने बताउनुभयाे । पालना गर्ने हाे भने वचन काफी भएकाे भन्दै उहाँले कांग्रेसले वाचा बन्धनमा अडिएकाे इमानै इमानकाे खानी भनेकाे देख्दा अचम्म लागेकाे समेत बताउनुभयाे ।
