काठमाडौं । प्रतिनिधि सभामा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन कसैले परिवर्तन गरेको नभई प्रचण्ड र आफूले गरेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले अहिलेको सत्ता समीकरण परिवर्तनको काम प्रचण्ड र आफू मिलेर गरेको बताउनुभयो । ‘प्रचण्डजी हो मुख्य गर्ने, त्यसमा मैले पनि साथ दिएको हो’, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसले बारम्बार बेइमान गरेको बताउँदै ओलीले कांग्रेसले इमानका कुरा गर्नु बेकार हुने बताउनुभयो । कांग्रेसले इमानको कुरा गर्दा आफूलाई अचम्म लाग्ने ओलीको भनाइ छ ।
अहिलेको परिस्थिति एमालेको कारण बनेको नभई अघिल्लो गठबन्धनकै कारण बनेको उहाँले बताउनुभयो । पोहोर दुई महिनामा नै सरकार परिवर्तन गर्दा अस्थिरता भएको नदेख्ने कांग्रेसलाई एक वर्ष पछि कसरी अस्थिरता भयो भन्दै उहाँले प्रश्न गर्नुभयो ।
देशको राजनीतिमा सोझै विभिन्न नाममा राष्ट्रिय एकतामा भाँजो हाल्ने काम भइरहेका ओलीले बताउनुभयो । विभिन्न खालका विद्वेष र घृणा फैलाउने काम भइरहेका भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘देशको परिस्थिति सुखद छैन’, ओलीले भन्नुभयो ।
ओलीले नागरिक सर्वोच्चता भन्दा माथि कुनै पनि सर्वोच्चता नहुने बताउनुभयो । नेपाल सम्पूर्ण नेपाली जनताको साझा राज्य भएको उहाँले प्रष्ट पार्नुभयो । राज्यले सबैलाई समदृष्टि र समभावका साथ हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘देशलाई एकताबद्ध बनाउनु पर्छ, सबैको साझा राज्य हो, त्यसको कार्यान्वयन हुनुपर्दछ’, उहाँले भन्नुभयो ।
