काठमाडौं । प्रतिनिधि सभामा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्ग्याउनु पर्ने पक्षमा नेकपा एमाले हिजोदेखि रहँदै आएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्ग्याउनु पर्छ भन्ने मान्यतामा एमाले हिजोदेखि नै रहँदै आएको बताउनुभयो । समाधान गर्नुपर्ने अनेक समस्यालाई मिलाएर लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।
आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुङ्ग्याऊँ भन्दा पनि चासो नदिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा एमालेले हिजो जे भनेको थियो आज पनि त्यही भनिरहेको उहाँले बताउनुभयो । ‘प्राय कुराहरू टुङ्गिएका छन्, अब केही कुरा बाँकी छन्, ती कुरालाई टुङ्ग्याऊँ’, उहाँले भन्नुभयो ।
सरकारमा कोही पनि घाम–जुन रहुञ्जेल नरहने उहाँले प्रष्ट पार्नुभयो । सरकार र सत्ता भनेको अस्थायी हुने उहाँले बताउनुभयो । आफू भएको बेलामा सकेको सकारात्मक काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
