काठमाडौं । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अहिले देशमा सबैभन्दा बढी विश्वासको संकट भएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले सबैभन्दा बढी विश्वासको संकट राजनीतिमा रहेको बताउनुभयो । यस्तो अवस्थामा प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्ने विडम्बनापूर्ण स्थिति भएको उहाँले धारणा राख्नु भयो ।
माओवादीबाट बारम्बार सबैलाई धोका भएको बताउँदै शर्माले धोका खाएकाहरू एक हौँ भनेर नारा लगाए उहाँको अवस्था के हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । ‘कुरा नचल्नेहरूको कुरा चल्यो भने यहाँको यात्रा चाहिँ कता चल्छ होला प्रधानमन्त्रीज्यू ?’, उहाँले प्रश्न गर्नुभयो ।
कांग्रेसले आफ्नो महासमितिमा छलफल गर्ने विषयमा माओवादीसँग अनुमति लिनु पर्छ भन्ने प्रचण्डको धारणा कांग्रेसको राजनीति माथि हस्तक्षेप भएको उहाँले बताउनुभयो ।
