काठमाडौं । प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवले विगतको सत्ता गठबन्धन अप्राकृतिक भएकोले त्यसलाई बदल्नु परेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै यादवले कांग्रेसबाट माओवादीलाई ठुलो धोका भएको बताउनुभयो । कांग्रेस यथास्थितिवादी पार्टी भएको कारण माओवादीले कांग्रेसबाट धोका खाएको बताउनुभयो । ‘विगतको गठबन्धन अप्राकृतिक थियो, अहिलेको गठबन्धन वैचारिक, सैद्धान्तिक हिसाबले, देशको अग्रगमनको लागि, संविधान संशोधन लगायत जनताका समस्या सम्बोधन गर्न यसको औचित्य छ’, उहाँले भन्नुभयो ।
अहिलेको गठबन्धनले देशको हित र समृद्धिको लागि काम गर्न सक्ने उहाँले बताउनुभयो । ‘यो प्राकृतिक गोत्र बनेको छ, यसले मुलुकको हित गर्छ’, उहाँले भन्नुभयो ।
उहाँले नेपाली कांग्रेसकै कारण पुरानो गठबन्धनमा अविश्वास पैदा भएको बताउनुभयो । अघिल्लो गठबन्धनको बेलामा नेपाको सामाजिक सद्भाव बिथोल्ने काम समेत भएको उहाँले आरोप लगाउनुभयो ।
