काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेता प्रति नागरिकको विश्वास मर्दै गएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै लिङ्देनले नेता प्रति जनताको विश्वासमा झन् क्षयीकरण हुँदै गएको बताउनुभयो । गठबन्धन बन्दा र छुट्दा राजनीतिक कारण हुनु पर्नेमा कुनै कारण बिना नै रातारात परिवर्तने हुने गरेका उहाँले टिप्पणी गर्नुभयो ।
कसैलाई आक्षेप लगाएर उम्कन सकिने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँले नयाँ बनेको गठबन्धनलाई राम्रो गर्न शुभकामना दिनुभयो । ‘फोहोरको डङ्गुर माथि उभिएर शुद्धताको मन्त्र जपेर कसैले पत्याउनेवाला छैन’, उहाँले भन्नुभयो ।
अहिलेको गठबन्धन पनि देश र जनताको स्थितिलाई केन्द्रमा राखेर नबनेको उहाँले बताउनुभयो । गठबन्धन केबल सत्तालाई सुरक्षा कबजको रूपमा राखेर बनाइएको उहाँको धारणा छ । ‘जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाए पनि अहिले भएको सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो यो, स्वार्थ मिले टाँसिने, नमिले छुट्टिने’, उहाँले भन्नुभयो ।
सत्ता केन्द्रित चलखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी नहुने उहाँले प्रष्ट पार्नुभयो । त्यसैले अहिलेको गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत पनि नदिने उहाँले बताउनुभयो ।
