काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले गणतन्त्रकाे नाममा लुटतन्त्र मच्याउने काम भइरहेकाे आराेप लगाउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्नुभएकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बाेल्दै अध्यक्ष लिङ्देनले हैसियत पुग्दाकाे दिन अहिलेकाे गणतन्त्रताई पल्टाइदिने चेतावनी समेत दिनुभयाे ।
लुटतन्त्रलाई नै गणतन्त्र भन्ने हाे भने त्यसकाे आफूहरुले सधैं विराेध गर्ने समेत उहाँले बताउनुभयाे । 'तपाइँहरुले दुनियाकाे सर्वोत्तम् र हामीले ल्याएकाे व्यवस्था भनेर जुन गणतन्त्रकाे व्याख्या गरिरहनुभएको छ, तर यो लुटतन्त्र गणतन्त्र हो भने हामी त्यसकाे सधैं विरोध गरिरहन्छौँ, त्यसकाे विपक्षमा उभिन्छाैं, सडक र सदनमा विराेध गर्छाैं, जुन बेला हैसियत पुग्छ, त्यसबेला यसलाई पल्टाउँछाैं, हाम्राे मुख थुन्न सक्नुहुन्न'- अध्यक्ष लिङ्देनले भन्नुभयाे ।
उहाँले अहिलेकाे गठबन्धन सत्ता स्वार्थका लागि बनेकाे आराेप लगाउनुभयाे । सत्ताकाे खेलमा राप्रपा नरहेकाे पनि अध्यक्ष लिङ्देनले बताउनुभयाे ।
उहाँले राजा र धर्मलाई गाली गरेर केही नपाइने समेत बताउनुभयाे । 'अब यहाँ उभिएर राजालाई धर्मलाई गाली गरेर स्याबास्सी पाउनुहुन्न, त्याे दिन सकियाे, कुनै समय थियाे हिजो राजा र हिन्दु धर्मलाई गाली गरेर तत्कालीन व्यवस्थालाई गाली गरेर वाहावाही कमाइन्थ्याे, अब त्यो सम्भव छैन, अब गरेर देखाउनुस्, तपाइँले गरेर देखाउन सक्नुभएन भने तपाइँले गलत नै भनेकाे चिज ठिक रहेछ भनेर मानिसले मान्ने दिन आउँछ'- सांसद् लिङ्देनले भन्नुभयाे ।
