काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत पाउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा भएकाे मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले १ सय ५७ मत पाउनुभएकाे हाे ।
मत विभाजनमा उहाँकाे पक्षमा १ सय ५७, विपक्षमा १ सय १० र मत दिन्न भन्ने पक्षमा १ मत परेकाे सभामुख देवराज घिमिरेले बैठकमा जानकारी दिनुभयाे । मतदानमा २ सय ६८ जना सांसद् उपस्थित थिए । बहुमतका लागि १ सय ३८ मत आवश्यक पर्नेमा प्रधानमन्त्रीले १९ मत बढी पाउनुभयाे ।
उहाँलाई सत्ता गठबन्धनकाे प्रमुख घटक नेकपा एमालेका ७७, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जनता समाजवादीका १२, एकीकृत समाजवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ र १ स्वतन्त्र सांसद्ले मत दिएका छन् ।
नेपाली कांग्रेस, राप्रपा, जनमत, लोसपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीकाे विपक्षमा मतदान गरे ।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिनुभएकाे हाे । गत फागुन २१ मा कांग्रेससँगको सहकार्य तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेसहितकाे नयाँ गठबन्धन बनाउनुभएकाे थियाे ।
प्रधानमन्त्री प्रचण्डले आजसँगै गरेर १४ महिनामा तेस्रो पटक विश्वासको मत लिनुभएकाे छ । गत वर्ष पुस १० मा नेकपा एमाले सहितको समर्थनमा प्रधानमन्त्री बनेपछि उहाँले पुस २६ मा पहिलो पटक विश्वासको मत लिनुभएकाे थियाे । त्यसबेला उहाँलाई २ सय ६८ सांसद्ले मत दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले पुरानाे गठबन्धन ब्युँताएपछि एमाले र रास्वपाले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएका थिए । त्यसपछि प्रधानमन्त्रीले गत वर्ष चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभएकाे थियाे । त्यसबेला उहाँलाई १ सय ७२ सांसद्ले समर्थन गरेका थिए ।
