काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले देश उन्नत सोचका साथ अघि बढ्न लागेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै गैरेले सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच भएका राजनीतिक दल अहिले एक ठाउँमा आएर सत्ता गठबन्धन बनेको बताउनुभयो । ‘जिम्मेवार राजनीतिक दलका बिचमा एउटा सहकार्य प्रारम्भ भएको छ’, उहाँले भन्नुभयो ।
यो कार्य नेकपा एमालेको सोच र पहलमा भएको गैरेको दाबी छ । यसले देशको समस्या समाधान गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । देशमा रहेको अविश्वास र निराशालाई भरोसामा बदल्ने कोसिस सुरु भएको उहाँले बताउनुभयो ।
देशमा भएको अविकास र भ्रष्टाचार कुनै दल विशेषका नभएर सिङ्गो देशको समस्या भएको उहाँले बताउनुभयो । त्यसैले यसका विरुद्ध सबै एकजुट भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । सत्तामा रहँदासम्म केही नदेख्ने तर प्रतिपक्षमा पुग्ने बित्तिकै क्रान्तिकारी बन्ने कुराले अर्थ नराख्ने उहाँले प्रष्ट पार्नुभयो ।
भ्रष्टाचार र तस्करी नियन्त्रणमा सरकार निर्मम भएर प्रस्तुत हुनु पर्नेमा उहाँले जोड दिनुभयो । सो तर्फ गैरेले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
