काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद् सीता मिजारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे राजीनामा माग्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् मिजारले सहकारी ठगी काण्डमा नाम जोडिएका व्यक्ति गृहमन्त्री जस्ताे पदमा बस्नुले गम्भीर नैतिक प्रश्न उठेकाे बतउानुभयाे ।
निष्पक्ष छानबिनका लागि गृहमन्त्री मार्ग प्रशस्त गर्नुपर्ने उहाँले बताउनुभयाे । 'बहालवाला गृहमन्त्रीको सहकारी ठगी सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दर्ता भएको छ, यसले गृहमन्त्रीमाति गम्भीर नैतिक प्रश्न उठेकाे छ, गृह प्रशासनकाे बागडाेर सम्हालेर बसेकाे नेतृत्वमाथि गम्भीर प्रश्न खडा भएकाे छ,न्याय निरूपणका लागि आफ्नै स्वार्थ बाझिने मान्छे सार्वजनिक पदमा बसिराख्नु कति जाहेर हो ? निष्पक्ष छानबिका लागि मार्गप्रशस्त गर्ने कि नगर्ने ? गृहमन्त्रीले यसकाे नैतिक जिम्मेवारी लिने कि नलिने ?'- सांसद् मिजारकाे प्रश्न छ ।
उहाँले अर्थमन्त्री वर्षमान पुनकाे नाम पनि सुनकाण्डमा जाेडिएकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
शून्य समयमा बाेल्दै नेपाली कांग्रेसकी सांसद् सरस्वती बजिमयले उथलपुथल ल्याउँछु र भ्रष्टाचार नियन्त्रण गर्छु भन्ने प्रधानमन्त्रीले सहकारी ठगीमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाउनु गम्भीर विषय भएकाे बताउनुभयाे ।
यस्तै बैठककाे सुरुमै बाेल्दै कांग्रेसकै सांसद् बद्री पाण्डेले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेकाे विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताउनुभयाे ।
