काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले हिमाली जिल्लाको आर्थिक वर्ष कात्तिक र मंसिरबाट सुरु गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिकाे छलफलमा भाग लिँदै उहाँले असारमा आर्थिक वर्ष राख्दा विकास निर्माणका नाममा पठाइएको बजेट खर्च नहुने बताउनुभयाे ।
कात्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष बन्नुपर्ने प्रमुख सचेतक शाहीले बताउनुभयाे । 'म जुम्लाको जुम्ली हो, हिउँ पर्छ अहिलेपनि, जब विकास निर्माणको काम मंसिरबाट सुरु हुन्छ, मंसिर र कात्तिक सुरु हुँदा जुम्लामा हिउँ परेर बस्न हुँदैन, असारसम्म जाँदा बजेट खर्च गर्न पाइँदैन, जति पैसा भए पनि खर्च हुन सक्दैन, अब आउने बजेटमा सिंगो नेपालको तराई र पहाड भएको आर्थिक वर्ष असार महिनामा हुन्छ भने हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरमा गर्नुपर्याे, त्यसो भए हामी बजेट चलाउन सक्छौँ'- उहाँले भन्नुभयाे ।
प्रमुख सचेतक शाहीले नेपालकाे माटाे सुहाउँदाे बजेट ल्याउनुपर्ने बताउनुभयाे । प्रदेश संरचना खारेज गर्नुपर्ने भन्दै उहाँले साे खारेज गर्दा अर्बाैं पैसा जाेगिने बताउनुभयाे ।
नेपाली विद्यार्थी बाहिर जाँदा अर्बाैं पैसा बाहिरिएकाे भन्दै उहाँले नेपालमा विदेशी विद्यार्थी ल्याउने वातावरण बनाउनुपर्ने बताउनुभयाे ।
