काठमाडौं । नेपाली कांग्रेसका सांसद् प्रदीप पौडेलले नेकपा एमालेलाई धन्यवाद दिनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् पाैडेलले प्रमुख प्रतिपक्षमा रहेका बेला सुन तस्करी काण्डकाे छानबिन गर्न भूमिका खेलेको भन्दै एमालेलाई धन्यवाद दिनुभयाे ।
'म तत्कालीन प्रतिपक्ष एमालेलाई विशेष धन्यवाद दिन्छु, यस्ता प्रकरणकाे छानबिन राज्यकाे संयन्त्रबाट हुन सक्दैन जाँचबुझ आयोग बनाउनुपर्छ भनेर त्याे बेलामा प्रतिपक्ष एमालेले भनेकाे थिए, म सत्तारुढ पार्टीको सांसद् भएर पनि त्यही कुरा उठाएको थिएँ, आज प्रहरीले त राजनीतिक मान्छेलाई छानबिनको दायरामा ल्याउँन त सक्दो रहेनछ नि, गृहमन्त्री स्वयमले स्वीकार गर्नुभएको छ प्रमाणहरू नष्ट भए'- उहाँले भन्नुभयाे ।
सुन तस्करी काण्डले धेरैलाई प्रश्न गरेकाे भन्दै सांसद् पाैडेलले यी विषयलाई गम्भीर रुपमा लिएर काम गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । सुन र सहकारी काण्डकाे छानबिन नयाँ शिराबाट हुने ग्यारेन्टी नभएसम्म कांग्रेसले निरन्तर प्रश्न उठाउने समेत उहाँले बताउनुभयाे ।
