काठमाडौं । नेपाली कांग्रेसका सांसद् कान्तिका सेजुवालले नयाँ गठबन्धन सरकारमाथि कानुनी र नैतिकताकाे प्रश्न उठेकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् सेजुवालले सहकारी ठगीकाे आराेप लागेकालाई सुशासनकाे भण्डार जिम्मा लगाइएकाे भन्दै आपत्ति जनाउनुभयाे । सहकारी ठगीकाे आराेपीलाई गृहमन्त्री बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमाथि नै धज्जी उडाएकाे आराेप लगाउनुभयाे ।
सुन काण्डमा अर्थमन्त्री वर्षमान पुनको समेत नाम जोडिएको भन्दै सांसद् सेजुवालले माओवादी केन्द्रका नेता सुनले पहेँलपुर भएको बताउनुभयाे । 'अहिले जतातै सुनकाे चर्चा छ, सत्ता नेतृत्व गरिरहेका दल माओवादी केन्द्रका थुप्रै नेता र उनका परिवारका सदस्यमाथि सुनका जलप लगाइसकेको छ, उहाँहरू सुनले पहेँलपुर भइसक्नुभएको छ, हुँदा हुदाँ माननीय अर्थमन्त्रीज्यूको नाम सुन प्रकरणमा जोडिएको छ'- उहाँले भन्नुभयाे ।
