काठमाडाैं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद् राजन केसीले सहकारी ठगीकाे आराेप लागेका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री स्वीकार्न नसकिने बताउनुभएकाे छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् केसीले सहकारी पीडितहरुले न्याय मागिरहेका भन्दै पीडकले पीडितलाई न्याय दिन नसक्ने बताउनुभयाे ।
उहाँले सहकारी काण्डकाे अनुसन्धान नहुञ्जेलसम्म राजीनामा दिएर अनुसन्धानमा सहयाेग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गर्नुभयाे । 'आराेप लागेका गृहमन्त्रीले सहकारी पीडितलाई कसरी सम्बाेधन गर्नुहुन्छ ? गम्भीर आशंका पैदा भएकाे छ, तपाइँ पीडक हाे, पीडकले पीडितलाई न्याय दिन सक्दैन याे संसारकाे सर्वमान्य नियम हाे, त्यसकारण गृहमन्त्रीलाई अनुराेध गर्न चाहान्छु अनुसन्धान नहुञ्जेलसम्म तपाइँ विश्राम गरेर बस्नुहाेला, ठिक भएकाे अवस्थामा आउनुहाेला, हाेइन भने कुनै हालतमा तपाइँलाई गृहमन्त्री स्वीकार्नेवाला हामी छैनाैं'- सांसद् केसीले भन्नुभयाे ।
बजारमा पुन र सुनकाे हल्ला चलिरहेकाे भन्दै उहाँले अहिलेका अर्थमन्त्री वर्षमान पुन र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन यसमा जाेडिएकाे बताउनुभयाे ।
अर्थमन्त्री पुनले १९ पटकसम्म सुन तस्करसँग कुरा गरेकाे समाचार आइरहेकाे भन्दै उनीहरुसँग के के कुरा भयाे भन्ने कुराकाे भ्वाइस डिटेल सदनमा सुनाउन आग्रह गर्नुभयाे ।
पूर्व उपराष्ट्रपति पुनको सम्पत्तिकाे स्राेतबारे प्रश्न उठेकाे भन्दै सांसद् केसीले उहाँकाे सम्पत्तिकाे छानबिन हुनुपर्ने बताउनुभयाे । 'अर्का पुन हुनुहुन्छ पूर्व उपराष्ट्रपति, मेरो छिमेकमा उहाँको आलिसान दरवार छ, उहाँ १० वर्ष अगाडि कपनमा २ कोठामा बस्नुहुन्थ्यो, आज ५ रोपनी जग्गामा बनेको आलिसान दरबारमा उहाँ राज भइबक्सेको छ, म चाहन्छु त्यो पैसा कहाँबाट आयो ? कसरी दरवार बन्यो ? स्रोत के हो ? कसरी धन प्राप्त भयो ? १० वर्ष अगाडि सामान्य जीवनयापन गरेको मान्छेले यति धेरै सम्पत्ति कसरी कमाउनुभयो ? उहाँले कति तलब लिनुभयाे, कति भत्ता लिनुभयाे, त्यसकारण सुन र पुनबारे प्रष्ट पारिदिन आग्रह गर्छु'- उहाँले भन्नुभयाे ।
लात्ताले हानिदिन्छु भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्रीले सदनलाई प्रष्ट पार्नुपर्ने समेत सांसद् केसीले बताउनुभयाे ।
