काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।
शुक्रबार बैठक जारी रहेकै बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवराेध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।
प्रतिनिधि सभा बैठककाे शून्य र विशेष समयकाे कार्यक्रम सकिएलगत्तै सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेलाई 'राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत अनुमति दिनुभयाे ।
त्यसपछि कांग्रेस सांसद् उठेर विराेध जनाए । सभामुख घिमिरेले कांग्रेस सांसद् राजन केसीलाई बाेल्न समय दिनुभयाे । सांसद् केसीले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई उपप्रधान तथा गृहमन्त्री किन बनाइयाे भन्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ४ दिनदेखि जवाफ मागिरहेकाे तर प्रधानमन्त्रीबाट जवाफ नआएकाे बताउनुभयाे । यसबारे प्रधानमन्त्रीकाे जवाफ नदिएसम्म बैठक अघि बढ्न नसक्ने उहाँले बताउनुभयाे ।
सभामुख देवराज घिमिरेले पटक-पटक आग्रह गर्दा पनि कांग्रेस सांसद्ले उठेर विराेध जनाइरहे ।
त्यसपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउनुभयाे । नियमावलीकाे पालना नभएकाे भन्दै उहाँले संसद्काे क्यालेण्डर बनेकाे र ६ गते प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम तय भइसकेकाे बताउनुभयाे । यसरी सदन अगाडि बढाउन नदिएर राेक्न खाेज्नु उचित नभएकाे बताउनुभयाे ।
कांग्रेस सांसद्ले उठेर विराेध जनाइरहेपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक रमेश लेखकलाई बाेल्न समय दिनुभयाे । संसद्मा प्रतिपक्ष उभिएकाे बेला संसद्काे कारबाही अवरुद्ध हुने कुरा नाैलाे रहेकाे भन्दै उहाँले यस्ता कुराले सदनकाे मर्यादा कायम नहुने बताउनुभयाे ।
विनियाेजन विधेयकका विषयमा कांग्रेसले अवराेध गर्न नचाहेकाे तर निरन्तर उठाइरहेकाे प्रश्नकाे जवाफ चाहिने बताउनुभयाे । कुनैपनि मन्त्री यदि कुनैपनि अनुसन्धान दायरा, छानबिनकाे घेराभित्र पर्नुभएकाे छ र राज्य त्याे ढंगले अगाडि बढ्नुपर्ने स्थिति छ भने त्यस्ताे मन्त्रीलाई पदमा बस्ने हक हुँदैन भन्ने हिजाे प्रतिपक्षमै बस्नेहरुले नै स्थापित गरेकाे बताउनुभयाे ।
प्रधानमन्त्रीले सम्बाेधन गर्दा त्यस्ता मन्त्रीलाई हटाइसकिएकाे जवाफ दिनुभएकाे भन्दै उहाँले गृहमन्त्री लामिछानेकाे विषयमा प्रधानमन्त्रीले जवाफ नदिएकाे बताउनुभयाे । सभामुखले रुलिङ गर्दा समत सरकारले नसुनेकाे बताउँदै लेखकले प्रश्न गर्नुभयाे - 'के प्रतिपक्षलाई वेलमै बाेलाएकाे हाे ? जवाफ दिने हाे कि प्रतिपक्षलाई वेलमै बाेलाएकाे हाे ? बाेलाएकाे हाे भने वाध्य नपारियाेस् ।'
गृहमन्त्रीसँग सम्बन्धित कार्यसूचीमा आफूहरु प्रवेश गर्न नसक्ने तर विनियाेजन विधेयककाे छलफल नराेक्ने उहाँले बताउनुभयाे ।
लेखकले बाेलिसकेपछि पनि कांग्रेस सांसद् उभिइरहेपछि सभामुखले सदन अगाडि बढाउन आग्रह गर्नुभयाे । तर उनीहरुले टेरेनन् । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरिएकाे बताउनुभयाे ।
