काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको वेल घेर्न बाध्य नपार्न चेतावनी दिएको छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठक अवराेधका क्रममा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको वेल घेराउ गर्ने वातावरण नबनाउन सरकारलाई चेतावनी दिनुभयाे ।
सहकारी ठगीकाे आराेप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पटक-पटक जवाफ मागिएकाे तर प्रधानमन्त्रीबाट कुनै जवाफ नआएकाे उहाँले बताउनुभयाे ।
सरकारले सभामुखकाे रुलिङ समेत नटेरेकाे भन्दै प्रमुख सचेतक लेखकले आराेपित गृहमन्त्रीकाे कार्यसूची संसद्मा राखिनु आपत्तिजनक रहेकाे बताउनुभयाे ।
विनियाेजन विधेयकका विषयमा कांग्रेसले अवराेध गर्न नचाहेकाे तर निरन्तर उठाइरहेकाे गृहमन्त्रीसम्बन्धी प्रश्नकाे जवाफ चाहिने उहाँले बताउनुभयाे । कुनैपनि मन्त्री यदि कुनैपनि अनुसन्धानकाे दायरा, छानबिनकाे घेराभित्र पर्नुभएकाे छ र राज्य त्याे ढंगले अगाडि बढ्नुपर्ने स्थिति छ भने त्यस्ताे मन्त्रीलाई पदमा बस्ने हक हुँदैन भन्ने कुरा तत्कालीन प्रतिपक्षहरुले नै स्थापित गरेकाे प्रमुख सचेतक लेखकले बताउनुभयाे ।
प्रधानमन्त्रीले सम्बाेधन गर्दा विगतमा आराेप लागेका त्यस्ता मन्त्रीलाई मन्त्रिमण्डल पुर्नगठन गरेर हटाइसकिएकाे जवाफ दिनुभएकाे भन्दै उहाँले गृहमन्त्री लामिछानेकाे विषयमा प्रधानमन्त्रीले जवाफ नदिएकाे बताउनुभयाे । सभामुखले रुलिङ गर्दा समत सरकारकाे ध्यानाकृष्ट नभएकाे बताउँदै प्रमुख सचेतक लेखकले प्रश्न गर्नुभयाे - 'के प्रतिपक्षलाई वेलमै बाेलाएकाे हाे ? जवाफ दिने हाे कि प्रतिपक्षलाई वेलमै बाेलाएकाे हाे ? बाेलाएकाे हाे भने वाध्य नपारियाेस् ।'
गृहमन्त्रीसँग सम्बन्धित कार्यसूचीमा आफूहरु प्रवेश गर्न नसक्ने तर विनियाेजन विधेयककाे छलफल नराेक्ने उहाँले बताउनुभयाे ।
