काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले काभ्रेपलाञ्चाेककाे काभ्रे भ्याली एकीकृत खानेपानी आयोजना तत्काल पूरा गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बाेल्दै सांसद् बाँस्कोटाले १ लाख ३० हजार बढी जनतालाई खानेपानी व्यवस्थापन गर्नुपर्ने साे खानेपानी आयोजना १० वर्षदेखि अलपत्र परेको बताउनुभयाे ।
६ वटा सरकार फेरिँदा समेत साे खानेपानीको मुहान फर्कन नसकेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयाे । चिनियाँ ठेकेदार कम्पनी १० कराेड भुक्तानी पाउन मुद्दा लडिरहेको सांसद् बाँस्काेटाले बताउनुभयाे । '१२ वर्षमा खोलो फर्कन्छ भन्थे यो १२ वर्षमा ६ वटा जति सरकार फर्किए, काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनाको एउटा मूल सरकारले फर्काउन सकेन, सन् २०१४ मा एडीभी र नेपाल सरकारको संयुक्त आयोजनामा ६८ करोडमा सुरु भएको अहिले ११२ अर्बमा पुग्यो तर काम भएन, ठेकेदारले काम गरेको छैन, निम्बोनिन्चेन भन्ने एउटा चाइनिज कम्पनी ठेकेदार अहिले १० करोडका लागि मुद्दा लडेर बसेको छ, जबकी विष्णु पौडेल अर्थमन्त्री हुँदा २१ करोड दिनुभएको थियो र ४ करोडको काम गर्ने ठेकेदार बेपत्ता छ'- उहाँले भन्नुभयाे ।
१ लाख ३० हजार बढी जनताले पानी पिउनुपर्ने तर सरकारले घरमा धारो देख्न नपाएकाे सांसद् बाँस्काेटाले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'त्यसकारण म खानेपानी मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु, याे याेजना तत्काल पूरा गरियाेस् ।'
