काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुन तस्करी काण्डकाे अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयाेग गठन गर्न दबाब दिने नेकपा एमालेकाे कदम सही सावित भएकाे बताएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकाे आकस्मिक समयमा बाेल्दै कांग्रेस सांसद् गगन थापाले सुन तस्करी काण्डकाे छानबिनका लागि तत्कालीन प्रमुख प्रतिपक्ष एमालेले दिएकाे दबाब सही थियाे भन्ने आज पुष्टि भएकाे बताउनुभयाे ।
सरकारले सुन काण्डमा शक्तिशाली नेताहरु लुकाउन प्रपञ्च गरेकाे रहेछ भन्ने आयाेगकाे प्रतिवेदन र कृष्णबहादुर महरा पक्राउले पुष्टि गरेकाे उहाँले बताउनुभयाे । 'केही समय अगाडि प्रतिपक्षकाे ठाउँबाट एमालेले सदनमा एउटा विषय जाेडदार ढंगले उठायाे सुनकाे प्रकरणमा शक्तिशाली मानिसहरु संलग्न भएका छन्, त्यसैले प्रहरीकाे नियमित अनुसन्धानबाट उनीहरुमाथिकाे छानबिन सही टुंगाेमा पुग्न सक्दैन भनेर, शक्तिशाली नेताहरुलाई लुकाउने प्रपञ्च गरिएकाे रहेछ भन्ने तत्कालीन प्रतिपक्षकाे आशंका सही सावित भएकाे छ, आयाेगले प्रतिवेदन बुझाएकाे छ, भर्खर सुनियाे कृष्णबहादुर महरा पक्राउ पर्नुभयाे, सरकारलाई धन्यवाद'- सांसद् थापाले भन्नुभयाे ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले किटान गरेकाे एउटा पनि मानिस छुट्न नहुने भन्दै उहाँले यस विषयमा सरकारलाई कांग्रेसकाे पूर्ण साथ रहने बताउनुभयाे ।
एमाले आवाज नउठाएकाे भए सुन काण्ड फासफुस हुने रहेछ भन्ने पनि पुष्टि भएकाे बताउँदै उहाँले भन्नुभयाे - 'त्याे बेलामा तत्कालीन प्रतिपक्ष एमालेले जाेडदार ढंगले नउठाएकाे भए आयाेग नबन्ने रहेछ, आयाेग नबनेकाे भए सुनकाण्ड फासफुस हुने रहेछ ।'
अहिले प्रमुख प्रतिपक्षमा रहेका आफूहरुले सहकारी काण्डबारे आवाज नउठाउने हाे भने याे काण्ड पनि फासफुस हुने खतरा रहेकाे समेत सांसद् थापाले बताउनुभयाे ।
