काठमाडाैं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद् गगन थापाले सहकारी ठगीमा मुछिएका उपपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफैं निष्पक्ष अनुसन्धान गर्न नसक्ने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् थापाले सहकारी ठगीकाे आराेप लागेका गृहमन्त्रीबाट निष्पक्ष छानबिन हुन्छ भन्ने कल्पना गर्न नसकिने बताउनुभयाे । 'सहकारी ठगीमा आफैं मुछिएका गृहमन्त्रीले कसरी फेयर ढंगले छानबिन हुन्छ भन्ने विश्वास गर्ने ?'-उहाँकाे प्रश्न छ ।
सहकारी ठगी काण्डमा नाम मुछिएका गृहमन्त्री लामिछानेमाथि तत्काल छानबिन हुनुपर्ने भन्दै सांसद् थापाले नखाएकाे विष नलाग्ने र लाग्न नहुने भएकाले अनुसन्धानका सघाउन गृहमन्त्रीलाई आग्रह गर्नुभयाे ।
पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री लामिछानेले एक करोड रुपैयाँ गैरकानूनी रुपैयाँ लिएको भन्दै यसमा छानबिन हुनुपर्ने उहाँले बताउनुभयाे ।
यस विषयमा दबाब नदिने हाे सहकारी काण्ड पनि फासफुस हुने खतरा देखिएकाे कुरा सुन तस्करी काण्डले पुष्टि गरेकाे सांसद् थापाले बताउनुभयाे । तत्कालीन प्रमुख प्रतिपक्ष एमालेले आवाज नउठाएकाे भए सुन काण्ड फासफुस हुने रहेछ भन्ने आयाेगकाे प्रतिवेदन र कृष्णबहादुर महरा पक्राउले पुष्टि गरेकाे भन्दै उहाँले यदि सहकारी काण्डलाई अहिलेकाे प्रमुख प्रतिपक्ष कांग्रेसले दबाब नदिने हाे भने याे पनि फासफुस हुन सक्ने बताउनुभयाे ।
आराेपी व्यक्तिलाई किन गृहमन्त्री नियुक्त गरियाे भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे जवाफ आफूहरुले निरन्तर मागिरहेकाे र तर जवाफ नपाएकाे उहाँले बताउनुभयाे ।
