काठमाडौं । नेकपा एमालेका सांसद् ऋषिकेश पोखरेलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका सरकारले अधिकार सम्पन्न छानबिन आयाेग बनाउनुपर्ने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् पाेखरेलले सहकारी आन्दोलनलाई संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउनुपर्ने र दाेषीलाई खाेज्नुपर्ने बताउनुभयाे । आर्थिक विकासका लागि महत्वपूर्ण याेगदान पुर्याइरहेकाे पवित्र संस्था आज गम्भीर घाइते भएकाे, संकटमा रहेकाे र यसकाे आन्दाेलनमाथि जताततैबाट प्रहार भइरहेकाे उहाँले बताउनुभयाे । 'सहकारी आन्दोलनलाई संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउनुपर्छ र जिम्मेवारपूर्वक (दोषी) खोजी गर्नुपर्छ, म सरकारलाई आग्रह गर्न चाहन्छु-तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔं'- सांसद् पाेखरेलले भन्नुभयाे ।
राज्यले समयानुकूल कानुकाे प्रबन्ध नगरिदिँदा,नियामक निकाय गैरजिम्मेवार भइदिँदा, नियामक निकायमा सहकारी आन्दाेलन नबुझेका र बुझ्न नचाहाने पदाधिकारी पठाइदिँदा र विभिन्न बेला राजनीतिक हस्तक्षेप भइदिँदा सहकारीमा समस्या आएकाे उहाँले बताउनुभयाे । सहकारी, सहअस्तित्व र जीवनकाे गर्जाे टार्ने व्यवसायिकतालाई हुनेखाने मालिक र गैर जिम्मेवार निकायले नक्कल गरेर काराेबार, व्यापार र पुँजी लुकाउने र कालाे धनलाई सेताे बनाउने धन्धाका रुपमा रुपान्तरण गरेका कारण सहकारी आन्दाेलन आज समस्यामा रहेकाे सांसद् पाेखरेलले बताउनुभयाे ।
सामाजिक सहकारीमा समस्या कम भएकाे भन्दै उहाँले धन्दाका लागि खाेलिएका सहकारीले सृजना गरिदिएकाे समस्यामा आज आम सहकारी आन्दाेलन घाइते बनेकाे बताउनुभयाे । आर्थिक विकासका लागि महत्वपूर्ण याेगदान पुर्याइरहेकाे पवित्र संस्था आज गम्भीर घाइते भएकाे, संकटमा रहेकाे र यसकाे आन्दाेलनमाथि जताततैबाट प्रहार भइरहेकाे सांसद् पाेखरेलले बताउनुभयाे ।
सहकारीकाे वर्गीकरण गर्नुपर्ने भन्दै सांसद् पाेखरेलले कुन सामाजिक सहकारी हाे र कुन काराेबारीले स्थापना गरेका सहकारी हुन भनेर छुट्याउनुपर्ने बताउनुभयाे । दाेस्राे खाले सहकारीले जम्मा गरेकाे सम्पत्तिकाे स्राेत के हाे भन्ने खाेज्नुपर्ने, ऋणीहरुकाे अध्ययन गर्नुपर्ने, ऋण फर्काउनैपर्ने अनिवार्य बाध्यकारी प्रबन्ध गर्न, आन्दाेलन बुझेकाे नियामक निकाय निर्माण गर्न र सराेकारवाला निकायसँग छलफल गरेर कानुनकाे संशाेधन गर्न उहाँले सुझाव दिनुभयाे ।
यी काम गर्ने हाे भने सहकारी आन्दाेलनमा आइरहेकाे समस्या, सहकारीमाथिकाे बाेलिएकाे धावा र गलत मनसायका व्यक्तिकाे चंगुलबाट मुक्त गर्न सकिने सांसद् पाेखरेलले बताउनुभयाे ।
सहकारी भित्रकाे समस्या के हाे कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयाे ।
