काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय हित र परराष्ट्र सम्बन्ध, नीति तथा कूटनीतिक मामिलामा राष्ट्रिय सहमति आवश्यक रहेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस विषयमा देशकाे हितलाई केन्द्रबिन्दुमा राखेर सहमतिसाथ सबै अगाडि बढ्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हामीले हाम्रो देशको हितलाई केन्द्रबिन्दुमा राखेर सबैले यस मामिलामा सहमतिको साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ, हामीले हाम्रो देशको हितलाई केन्द्रबिन्दुमा राख्दै गर्दा कहीँ कतै कुनै कारणले अन्य स्वार्थहरू हाबी हुन दियौं भने त्यसबाट प्रभावित भयौं भने हाम्रा पूर्खाहरूले हामीलाई दिएको स्वतन्त्र, सार्वभौम राष्ट्रिय सार्वमौकिताको हितकाे रक्षामा गम्भीर चुनौति उपस्थित हुन सक्छन्, त्यसकारण यस मामिलामा सबैले गम्भीरतापूर्व साेच्नुपर्छ, परराष्ट्र सम्बन्ध, नीति र राष्ट्रिय हितका मामिलामा राष्ट्रिय सहमति गरौं ।'
कूटनीतिक सम्बन्धमा संवेदनशील भएर अभिव्यक्ति दिन राजनीतिक दल, सांसद्, जनप्रतिनिधि र सबैमा अुनराेध गर्दै मन्त्री श्रेष्ठले परराष्ट्र नीति, सम्बन्ध र कूटनीतिका अभ्यासका बारेमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयतापूर्वक विचार राख्न अनुराेध गर्नुभयाे ।
राष्ट्रिय सार्वभाैमिकता, भाैगाेलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र हितकाे प्रबर्द्धन गर्नु सरकारसँगै सबैकाे कार्यभार रहेकाे भन्दै उहाँले यसमा सरकार गम्भीर रहेकाे बताउनुभयाे । राष्ट्रिय सार्वभाैमिकता, भाैगाेलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र हितकाे प्रबर्द्धनमा सरकार पूर्ण प्रतिबद्ध रहेकाे परराष्ट्रमन्त्री श्रेष्ठले प्रष्ट पार्नुभयाे । स्वतन्त्र परराष्ट्र नीति अबलम्वन गर्दै दक्ष र कूटनीतिक अभ्यास गर्दै अगाडि बढ्ने प्रतिबद्धता उहाँले जनाउनुभयाे ।
राष्ट्रिय हितलाई सर्वाेपरी राख्ने आधार स्वतन्त्र परराष्ट्र नीति र दक्ष तथा कुशल कूटनीतिक अभ्यास हुने पनि परराष्ट्रमन्त्री श्रेष्ठले बताउनुभयाे । नेपालकाे संविधान, संयुक्त राष्ट्रसंघकाे बडापत्र, पञ्चशिलकाे सिद्धान्त र असंग्नताकाे नीति मूल आधार हुने उहाँले बताउनुभयाे । २ छिमेकीसँगकाे असल र मैत्रीपूर्ण सम्बन्धलाई प्राथमिकता अरु सबै राष्ट्रसँग राम्राे र मैत्री सम्बन्धका आधारमा परराष्ट्र नीति सञ्चालन हुने र त्यसकै आधारमा आफूहरु अगाडि बढ्ने बताउनुभयाे ।
गत सरकार र व्यवस्थाका सकारात्मक नीति र कदमलाई निरन्तरता दिँदै कमजाेरी सच्याउँदै सरकार स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै अघि बढ्ने परराष्ट्र मन्त्री श्रेष्ठले बताउनुभयाे । कूटनीतिक आचार संहिताकाे पालना गर्न उहाँले सबैमा आग्रह गर्नुभयाे ।
नेपालीहरूलाई रुसी सेनामा भर्ना नलिन आग्रह गरिएकाे पनि उहाँले बताउनुभयाे ।
