काठमाडाैं । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस भएको छ ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्नुभएकाे हाे ।
बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राख्नुभएकाे वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्टेक) वडापत्रमाथि सामान्य छलफल गरियाेस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएकाे छ । त्यसअघि साे प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भएकाे थियाे ।
छलफलमा बाेल्दै नेकपा एमालेका सांसद् रघुजी पन्तले बिमस्टेकसँगै सार्कलाई पनि अघि बढाउन जरुरी रहेको बताउनुभयाे । बिमस्टेकमा बंगलादेश, भारत, भुटान, थाइल्याण्ड, म्यान्मार, श्रीलंका र नेपाल सदस्य रहेको सार्कमा सदस्य रहेको पाकिस्तानलाई एक्लै बनाएर सार्कलाई निस्तेज पार्ने र बिमस्टेक अघि बढाउने चाहना भारतको रहेको भन्दै उहाँले सार्कलाई अघि बढाउन प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयाे । नेपालले बिमस्टेकबाट के-के फाइदाहरू लियो भन्ने कुरा र त्यसको फेहरिस्त पनि बिमस्टेक चार्टडसँगै सदनमा पेस गरेकाे भए राम्राे हुने समेत सांसद् पन्तले बताउनुभयाे ।
नेपाली कांग्रेसका सांसद् प्रदीप पाैडेलले बिमस्टेकबाट नेपालले लाभ लिन नसकेकाे बताउनुभयाे । अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघ-संगठनहरुमा नेपालको सहभागिताले हानी नगर्ने भए पनि जति फाइदा लिनुपर्ने हो सो भने नेपालले लिन नसकिरहेको बताउनुभयाे ।
एमाले सांसद् याेगेश भट्टराईले सार्क र विमस्टेक एक अर्कामा निषेध गर्नेजस्तो देखिएको बताउनुभयाे । उहाँले छिटोभन्दा छिटो सार्क सम्मेलन आयोजना गर्नुपर्ने बताउनुभयाे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्क आन्दोलनलाई ओझेलमा पार्न बिमस्टेकको खेती गरिएको बताउनुभयाे । दक्षिण एसियामा शक्तिशाली संगठन भनेकै सार्क भएकाले सशक्त बनाएर अघि बढाउनुपर्ने उहाँकाे सुझाव छ ।
सांसद्ले उठाएका जिज्ञासाकाे जवाफ दिँदै मन्त्री श्रेष्ठले बिमस्टेक सार्कको प्रतिस्थापन नभएको प्रष्ट पार्नुभयाे । सार्कको औचित्य र आवश्यकाबारे नेपाल सरकारको स्पष्ट धारणा रहेकाे भन्दै उहाँले सार्कलाई पुनः क्रियाशिल गर्न र शिखर सम्मेलन गर्न सरकार लागिपर्ने प्रतिबद्धता जनाउनुभयाे ।
