काठमाडाैं । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीले जनताकाे चाहानाअनुसार बजेट आउनुपर्ने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिकाे छलफलमा बाेल्दै सांसद् भण्डारीले कुनै पनि काम समयमा पूरा नहुने स्थिति अब अन्त्य हुनुपर्ने बताउनुभयाे । यथार्थ र युवामा आशा जगाउने बजेट आउनुपर्ने उहाँले बताउनुभयाे ।
सरकारले हरेक वर्ष बजेटमा क्रिकेट मैदान बनाउने भनेर बजेट छुट्याएपनि अहिलेसम्म एउटा राम्राे क्रिकेट मैदान बनाउन नसेकाे बताउनुभयाे । गुल्मीका एक युवाले विदेशमा दु:ख गरेर कमाएकाे पैसाले नेपालकाे रुपन्देहीमा ९ महिनामा क्रिकेट मैदान तयार पारेकाे उदाहरण दिँदै सांसद् भण्डारीले १०औं वर्षसम्म केही गर्न नसक्ने र बजेट फ्रिज हुने सरकारी प्रवृत्ति देखिएकाे बताउनुभयाे । 'अष्ट्रेलियामा काम गर्ने बिनाेद कुँवर र उनकाे श्रीमतीले ९ महिना १० दिनमा तिलाेत्तमामा क्रिकेट मैदान बनाए, हामी १०औं वर्ष के गर्दैछाैं ? हाम्राे बजेट के हुँदैछ ?'- उहाँकाे प्रश्न छ ।
देशकाे सुख, शान्ति, विकास र समृद्धिका लागि ल्याइएकाे बजेटले के गर्न सक्याे भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयाे - 'के हाम्रा युवालाई नेपालमा राख्न आशा जगाउन सक्याे ? किसानलाई सुविधा, मल, बीउ, बजार, मूल्य दिन सक्याे ?'
आफू आफ्नाे निर्वाचन क्षेत्र जाँदा बन्द भएकाे उद्याेग, धुलाेमाटाे आदीले गिज्याउने गरेकाे उहाँले बताउनुभयाे । विधेयककाे प्राथमिकता र सिद्धान्त राम्रा रहेका भन्दै सांसद् भण्डारीले खास प्राथमिकता केहाे त्यसमा स्पष्ट व्यवस्था हुनुपर्ने बताउनुभयाे । देश सुहाउँदाे प्राथमिकता र सिद्धान्त आउनुपर्ने उहाँले बताउनुभयाे । हरेक ठाउँमा समीक्षा नगरीकन अगाडि बढ्न नसकिने उहाँले बताउनुभयाे ।
