काठमाडाैं । नेकपा एमालेका सांसद् गाेकुल प्रसाद बाँस्काेटाले सदनमा पेस भएको सरकारकाे बिनियाेजन विधेयकका सिद्धान्त र प्राथमिकता पुर्नलेखन गर्नुपर्ने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिकाे छलफलमा बाेल्दै सांसद् बाँस्काेटाले विनियाेजन तत्कालीन अर्थमन्त्री डा. प्रकाशरण महतले ल्याएकाे साे सिद्धान्त र प्राथमिकता पुर्नलेख गर्नैपर्ने बताउनुभयाे ।
नयाँ गठबन्धन बनेपछि नयाँ ढंगले आउँछ भन्ने लागेकाेमा पुरानै आउनुले छलफल गर्न आवश्यक नभएकाे बताउनुभयाे । 'मैले सुनेकाे छु नयाँ गठबन्धनले नयाँ स्क्रिप्ट लेखेकाे छ, पहिला त त्यही आउनुपर्ने हाेला, हामी कर्मकाण्डी अन्तर्गत नै छलफल गरेका छाैं, यो कस्ताे भयाे भने अञ्जु पन्त र शिव परियारको गीतको जस्तो कहाँ थियौ हिजो तिमी रंगमञ्च उठेपछि आयौ, समयले जवानी लुटेपछि आयौ, छैन अहिले, यो केमा छलफल गर्ने ? याे टुहुराे पनि हाेइन बेबारिसे बच्चाजस्ताे भयाे, यसको अपनत्व कसले लिने ? अहिले हामीले छलफल गरिरहेको डकुमेन्टको अपनत्व अर्थमन्त्रीले लिन सक्नुहुन्छ कि हुँदैन ? यही लिनुहुन्छ भने त यहाँ समाजवाद होइन, संविधानको कार्यान्वयन होइन, संविधानकाे बेमतलबीतिर सरकारकाे सिद्धान्त र प्राथमिकतातिर उन्मुख भएकाे पाइन्छ, धेरै कुरा गर्नै परेन अर्थमन्त्रीलाई सुझाव याे पुर्नलेखन गराैं'- बाँस्काेटाले भन्नुभयाे ।
अहिलेकाे गठबन्धनले यही सिद्धान्त र प्राथमिकता बाेक्ने हाे भने यसले मुलुककाे समस्या समाधान नगर्ने बताउनुभयाे । नयाँ ल्याउने हाे भने त्यस विषयमा छलफल नै आवश्यक नहुने सांसद् बाँस्काेटाले बताउनुभयाे । काम र स्वास्थ्यका लागि विदेश जानुपर्छ भने याे स्थितिकाे अन्त्य हामीले कहिले गर्छाैं भन्ने मुख्य प्रश्न रहेकाे उहाँले बताउनुभयाे ।
प्रतिगामीहरु र पुर्नउत्थानवादीहरुले दिएकाे चुनाैतीकाे जग र आधार भत्काउने सामार्थ्य नयाँ गठबन्धनले राख्नुपर्ने सांसद् बाँस्काेटाले बताउनुभयाे । जनतालाई सुरक्षित छाै भन्ने विश्वास पनि नयाँ गठबन्धनले जगाउनुपर्ने उहाँले बताउनुभयाे ।
मदन भण्डारी विश्वविद्यालयकाे काम अगाडि बढ्न नसकेकाे भन्दै सांसद् बाँस्काेटाले कतिबेला के गर्ने भनेर स्पष्ट याेजनासहित सरकार अगाडि बढ्नुपर्ने बताउनुभयाे ।
देशका समस्या चिनेर र समाधानका लागि सही उपचार खाेज्न नयाँ गठबन्धनलाई उहाँले सुझाव दिनुभयाे । आफ्नाे कर्मचारी संयन्त्र राख्नुपर्ने बताउनुभयाे । निराश जनतालाई आशा जगाउनुपर्ने भन्दै सांसद् बाँस्काेटाले निराश जनता राजनीति, राष्ट्र र राष्ट्रिय आत्मविश्वासका निम्ति खतरनाक विस्फाेट बन्न सक्ने समेत चेतावनी समेत दिनुभयाे ।
पछि परेकाे क्षेत्र र जनता बस्ने ठाउँलाई प्राथमिकतामा राखेर विकासकाे प्रक्रियालाई अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयाे । याे सिद्धान्त र प्राथमिकताले बजेटलाई बाेक्नुपर्ने पनि सांसद् बाँस्काेटाले बताउनुभयाे ।
