काठमाडाैं । नेकपा एमालेका सांसद् बासुदेव घिमिरेले रुपन्देही जिल्लालाई नेपालकाे सांस्कृतिक तथा आर्थिक राजधानी घोषणा गर्न माग गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् घिमिरेले साे माग गर्नुभएकाे हाे । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भूगोल समेत पर्ने रुपन्देही क्षेत्र नम्बर-५ विकासको दृष्टिकोणले राज्यबाट सधैं उपेक्षित रहेको उहाँले बताउनुभयाे ।
वर्षौं भइसक्दा पनि लुम्बिनी गुरु योजना सम्पन्न हुन नसकेकाे सांसद् घिमिरेले बताउनुभयाे । लुम्बिनीमा पर्यटकको आकर्षण बढाउन क्षेत्र नम्बर-५ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाइको क्षेत्रमा एकीकृत विकासका काम गर्नुपर्ने उहाँले बताउनुभयाे ।
आगामी आर्थिक वर्षको बजेटमा लुम्बिनी गुरुयाेजना कार्यान्वयन रामापुर-लुम्बिनी-कक्रहवा, फायरलाइन-रुद्रपुर-लोण्डिहवा-मंगलपुर-लुम्बिनी-कक्रहवा, लोण्डिहवा-जोगडा-मोगलहवा-मसिना-शिवलहवा-कक्रहवा, बाँसगढी-लौसा-कञ्चन, पच्चीस बगिया-लोण्डिहवा, सूर्यपुरा-मजदिया, रामापुर-लौधापानी लगायत महत्वपूर्ण सडकहरूको स्तरोन्नतिका बजेट विनियाेजन गर्न घिमिरेले सरकारसँग माग गर्नुभयाे ।
साे क्षेत्रका पुलहरूको निर्माणको साथै कञ्चन सिँचाई, दानापुर र गैडहवा तालमा पर्यटन पूर्वाधार निर्माणका लागि पनि यथोचित बजेट विनियोजन गर्न उहाँले माग गर्नुभयाे ।
अव्यवस्थित बसाेबासीले लालपूर्जा प्राप्त गर्दा तिर्नुपर्ने राजस्व अत्यधिक बढी भएकाे भन्दै सांसद् घिमिरेले आधा घटाउन समेत माग गर्नुभयाे ।
रुपन्देही-५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद् घिमिरे तिलाेत्तमा नगरपालिकाका पूर्व मेयर समेत हुनुहुन्छ ।
