काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडाैंकाे कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पताललाई जलनकाे प्रमुख अस्पतालकाे रुपमा विस्तार गरिने बताउनुभयाे ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीले राख्नुभएकाे प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले जलन उपचार अस्पताल स्थापना गर्नका लागि भण्डारीले गर्नुभएकाे आग्रहलाई आफूले आत्मसाथ गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'कीर्तिपुरकाे बर्न अस्पताललाई जलनकाे प्रमुख अस्पतालकाे रुपमा विस्तार गर्न सरकारबाट अनुदान दिने पक्रिया अगाडी बढेकाे छ ।'
वीर, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्ने पक्रिया अगाडि बढेकाे प्रधामन्त्री प्रचण्डले बताउनुभयाे । प्रदेशमा रहेका केन्द्रीय अस्पतालमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारकाे जलनकाे त्यही उपचार गर्ने र कडाका लागि रेफरल गर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयाे ।
स्वास्थ्यकर्मीलाई जलनकाे प्राथमिक उपचारकाे तालिमकाे व्यवस्था सुरु गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम भइरहेकाे पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
देशमा सुशासनका नयाँ मानक स्थापित हुँदै गरेको भन्दै उहाँले देशमा सुधारका काम भइरहेको बताउनुभयाे ।
