काठमाडाैं । भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकबाट साे विधेयक सर्वसम्मतिले स्वीकृत भएकाे हाे । अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएकाे साे प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै सभामुख देवराज घिमिरेले साे प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
पहिलाे बैठकमा गणपूरक संख्या नपुगेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे थियाे । सभामुख घिमिरेले विधेयकमा संशाेधन राख्न चाहाने सांसद्लाई ७२ घण्टाभित्र विधेयक शाखा प्रतिनिधि सभामा सूचना दिन आग्रह गर्नुभयाे ।
पहिलाे बैठकमा विधेयककाे सैद्धान्तिक पक्षमाथिकाे छलफलमा सांसद्हरुले भाग लिएका थिए । उनीहरुले भन्सारका देखिएका बेथिति अन्त्य गर्नेगरी विधेयकमा अघि बढ्नुपर्ने बताएका थिए । सांसद्का प्रश्नकाे अर्थमन्त्री पुनले जवाफ दिनुभएकाे थियाे ।
