काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले सरकारको इञ्जिन नै बिग्रिसकेकाले गियर परिवर्तनले केही गर्न नसक्ने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् खतिवडाले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेयर परिवर्तन गरेर अघि बढ्नका लागि नयाँ समीकरण बनाएकाे बताउनुभएकाेतर्फ लक्षित गर्दै त्यसाे भन्नुभएकाे हाे । 'केही दिन अगाडि प्रधानमन्त्रीज्युले संसद्मा बोलेको सुनेँ, सरकारको गियर परिवर्तन गर्नुपर्याे भन्नुभयो, एक्सिलेटर नै बिग्रिएको र इञ्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम गर्दैन भन्ने आभाष हामीलाई भएको छ'- उहाँले भन्नुभयाे ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय सुनुवाइ समिति गठन गर्न आवाज उठाउँदा भागेर हिँड्ने सरकारले सरकारले कस्तो आयोग गठन गर्ला भन्दै सांसद् खतिवडाले आशंका व्यक्त गर्नुभयाे । 'सरकारले हिजो न्यूनतम साझा कार्यक्रम घोषणा गरेको सुनियो, विभिन्न आयोग गठन गर्छौं भनेको पनि त्यहाँ उल्लेख गरेको पाइयो, सहकारी ठगीको एउटा संसदीय समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? त्यो पनि अचम्मको विषय पर्याे, जनतालाई ढाट्ने काम नहोस्'- उहाँले भन्नुभयाे ।
७ सय ५३ स्थानीय तहमा अस्पताल निर्माणका लागि रकम अभाव भएकाे भन्दै सांसद् खतिवडाले सबै ठाउँमा तत्काल रकमकाे व्यवस्था गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
