काठमाडौं । अर्थ मन्त्री वर्षमान पुनले अघिल्ला अर्थमन्त्रीले ल्याउनुभएका राम्रा सिद्धान्त र प्राथमिकतालाई निरन्तरता दिने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री पुनले समय परिस्थिति अनुसार यसलाई सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुशासन, सामाजिक न्याय र समृद्धिका सोच सहितको समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्ने कार्यक्रम आउने उहाँले बताउनुभयो ।
सामाजिक न्याय सहितको समृद्धिमा बजेटले जोड दिने उहाँले बताउनुभयो । ‘गुणस्तरीय, शिक्षा, स्वास्थ्य र रोजगारी र सामाजिक सुरक्षाको व्यवस्थाद्वारा सामाजिक न्याय कायम गर्ने र प्रमुख रणनीतिक महत्वको आधारभूत सेवा प्रदान गर्ने क्षेत्रमा राज्यको बढाउने तर्फ बजेट लक्षित हुने छ’, पुनले भन्नुभयो ।
हाल देखा परेको समस्या समाधानमा बजेट केन्द्रित हुने उहाँले बताउनुभयो । उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिई युवा पलायनलाई रोक्न बजेट केन्द्रित हुने उहाँले बताउनुभयो ।
आगामी वर्षको बजेट आउनु अगावै बजेटका विषयमा संसद्मा छलफल गरी सुझावका आधारमा बजेट बनाउने उहाँले बताउनुभयो । सोही अनुसार विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफल सुरु भइसकेको उहाँले प्रष्ट पार्नुभयो ।
लगानी अनुसारका प्रतिफल नआउने कार्यक्रमलाई खारेज गर्ने वा पुनर्संरचना गरेर अघि बढ्ने पुनले बताउनुभयो । कृषिको उत्पादकत्व र उत्पादन बढाउन भूमिगत सिँचाई लगायतका सिँचाइका कार्यक्रम ल्याइने उहाँले जानकारी दिनुभयो ।
वातावरण संरक्षणका लागि विशेष कार्यक्रम बनाउने बताउँदै पुनले चुरे दोहन नियन्त्रण गर्न विशेष कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । पानीका मुहान जोगाउने कुरामा विशेष ध्यान दिने उहाँले स्पष्ट पार्नुभयो ।
आर्थिक शिथिलताको अवस्था अन्त्य गर्न आन्तरिक र बाह्य पुँजी परिचालन गरिने उहाँले बताउनुभयो । अर्थतन्त्रलाई थप चलायमान बनाउन थप प्रबन्ध गरिने पुनले बताउनुभयो । पुँजीगत खर्च बढाउन कानुन सुधारका काम समेत गरिने उहाँले प्रष्ट पार्नुभयो ।
उहाँले दुग्ध किसानको समस्या समाधान गर्न सरकारले बजेटको व्यवस्था गरिसकेको जानकारी दिनुभयो । विश्व विद्यालयमा विद्यमान समस्या पनि तत्काल समाधान गर्ने पुनले बताउनुभयो ।
सरकारी, सामुदायिक र निजी क्षेत्रबाट दिइने स्वास्थ्य सेवालाई थप व्यवस्थित र सुधार गर्ने उहाँले बताउनुभयो । बजेट निर्माणको सन्दर्भमा सांसदहरूबाट आएका सुझावलाई कार्यान्वयन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
युवामा देखिएको निराशालाई आशामा बदल्न जनप्रतिनिधिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने पुनले बताउनुभयो । यो कुरालाई आफूले महत्वका साथ लिएको उहाँले धारणा राख्नु भयो ।
उहाँले अहिले पैसाको अभाव होइन खर्च गर्ने क्षमताको अभाव भएको बताउनुभयो । अहिले पनि पैसा अभाव भएको होइन पाँच खर्ब बढी बजेट खर्च गर्न नसकिएको उहाँले सुनाउनुभयो ।
