काठमाडाैं । राष्ट्रिय सभाले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
बुधबार बसेकाे राष्ट्रिय बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएकाे साे विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
राष्ट्रिय सभाकाे आजकाे बैठकले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत पनि गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साे विधेयकमा सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भनी प्रस्ताव गर्नुभएकाे थियाे ।
राष्ट्रिय सभाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजित विधेयकमा सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न भएको हो ।
