काठमाडाैं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिडेटका पीडित बचतकर्ताहरूले प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् ।
सहकारीका सञ्चालक गितेन्द्रबाबु (जिबी) राईसहित १४ जना प्रतिवादीलाई तुरुन्तै पक्राउ गर्न, निक्षेपकर्ताकाे बचत रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन लगायत मागसहित उनीहरुले बिहीबार समिति सभापति रामहरि खतिवडा समक्ष निवेदन दिएका हुन् । सूर्यदर्शन बचत पीडित संघर्ष समितिले सिंहदरबारस्थित समितिको कार्यकक्षमा पुगेर निवेदन बुझाएकाे हाे ।
जिबी राई राई लगायत एउटा सानो समूहले हजारौँ पोखरेली जनताको करोडौं रुपैयाँ हिनामिना गरी सबै बचतकर्तालाई अलपत्र पारेर फरार रहेका निवेदनमा उल्लेख छ ।
सडकदेखि सदनसम्म ठगीको चर्चा भइरहँदा र डिफ्युजन नोटिस जारी हुँदा पनि सूर्यदर्शन सहकारीका अन्य १४ जना प्रतिवादी पक्राउ पर्न नसकेका उल्लेख गर्दै निवेदनमा लेखिएकाे छ - 'यिनीहरूलाई हाम्रो कुन राज्यव्यवस्थाले संरक्षण दिइरहेको छ ? हामीलाई यसको जवाफ चाहियो साथै, यो प्रकरणमा संलग्न जोकोहीलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई बचतकर्ताको बचत फिर्ता हुने वातावरण मिलाइदिनुपर्याे ।'
