काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राज्य लोककल्याकारी र जिम्मेवार हुनु पर्ने बताउनुभएको छ ।
बिहीबार अर्थ समितिको बैठकमा बोल्दै पुनले राज्यले प्रतिस्पर्धीलाई प्रतिस्पर्धा गर्न दिने र प्रतिस्पर्धा गर्न नसक्नेलाई संरक्षण गर्नुपर्ने र गर्ने बाउनुभयो । सरकार लोककल्याणकारी सिद्धान्तको आधारमा अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । ‘राज्य कल्याणकारी हुनुपर्छ, राज्य समन्यायिक हुनुपर्छ’, उहाँले भन्नुभयो ।
उहाँले विगतमा सिद्धान्त र प्राथमिकता हतार हतार आउँदा छलफल नै हुन नपाउने भएकोले अहिले तीन महिना अघि नै सिद्धान्त र कार्यक्रम आएको बताउनुभयो । सिद्धान्त र कार्यक्रम माथि बेलैमा छलफल गर्दा नीति र कार्यक्रममा पर्याप्त छलफल गर्न पाइने उहाँले प्रष्ट पार्नुभयो ।
पुनले भन्सार चुहावट रोक्नको लागि काम भइरहेको पनि बताउनुभयो । उहाँले भन्सार चुहावटको आँकडामा सुधार हुने विश्वास दिलाउनुभयो । ‘आउँदो महिनादेखि नै भन्सार चुहावटको आँकडामा सुधार ल्याउँछौँ’, उहाँले भन्नुभयो ।
निवर्तमान अर्थमन्त्रीले प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गरी धेरै सुझाव आएकाले परिमार्जन गरेर अघि बढ्ने पुनले बताउनुभयो । समितिबाट आएका सुझावहरूलाई आत्मसाथ गर्दै समितिबाट आएको निर्देशन कार्यान्वयन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
