काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले व्यक्तिलाई अत्याधुनिक हतियार राख्ने अनुमति दिनु सुरक्षाको हिसाबले अत्यन्त जोखिमपूर्ण रहेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा राज्य व्यवस्था समिति बैठकमा बोल्दै पन्तले दुर्गा प्रसाईँलाई दिएको जस्ता हतियार व्यक्तिलाई राख्न दिने हो भने सुरक्षा चुनौती हुने बताउनुभयो । आफ्नो सुरक्षाको लागि सामान्य हतियार राख्न सक्ने भए पनि सयौँ गोली लाग्ने अत्याधुनिक हतियार राख्न दिनु सामासिक सुरक्षाका हिसाबले जोखिमपूर्ण रहेको पन्तको धारणा छ ।
यस्तो हतियार गलत मानिसले लाइसेन्स नै लिएर बोक्यो भने पनि ठुलो घटना हुनसक्ने तर्फ उहाँले सचेत गराउनुभयो । ‘दुर्गा प्रसाईँलाई यस्तो प्रकारको हतियार राख्ने अनुमति कसरी दिइयो ?’ उहाँले प्रश्न गर्नुभयो ।
त्यस्तो हतियार व्यक्तिलाई राख्न दिने कानुन नै छ भने पनि त्यसलाई फेर्न पन्तले सुझाव दिनुभयो । संसारका विभिन्न सहरमा त्यस्ता हतियार राख्ने मानिसले निहत्था बालबालिका र वृद्ध वृद्धालाई समेत मारेका घटना प्रति उहाँले सचेत गराउनुभयो ।
त्यस्ता हतियार राख्ने अनुमति देशभरि कतिजना मानिसलाई दिएको छ भन्ने अभिलेख राखिएको छ कि छैन ? भन्दै उहाँले गृह मन्त्री र गृह सचिवलाई प्रश्न गर्नुभयो । त्यस्ता व्यक्तिबाट हतियार लिन आवश्यक ठानिएको छ कि छैन ? भन्ने उहाँले प्रश्न गर्नुभयो । अहिलेको घटनलाई हेर्दा हतियार राख्न अनुमति सम्बन्धी नीति नै फेर्नु पर्ने उहाँले बताउनुभयो ।
नेपाल जस्तो मुलुकमा राज्यको सुरक्षा प्रणालीलाई बलियो बनाउनु पर्ने बताउनुभयो । व्यक्तिलाई हतियार राख्न अनुमति दिने होइन, हतियार नै राख्नु नपर्ने अवस्था सिर्जना गर्ने गरी राज्यले सुरक्षा व्यवस्था मिलाउनु पर्नेमा पन्तले जोड दिनुभयो ।
पन्तले अधिकांश ठाउँमा भारतीय पक्षबाट दशगजाको भूमि मिचिएको तर्फ पनि गृह प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।
