काठमाडौं । प्रतिनिधि सभा सदस्य गुरुङले राज्य व्यवस्था समितिका सभापति आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएको भन्दै आपत्ति जनाउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा राज्य व्यवस्था समिति बैठकमा बोल्दै गुरुङले बैठकमा विषय बस्तु नतोकी गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्ने गरी भनेर बैठक बोलाउनुको नियत माथि समितिका सभापति रामहरि खतिवडा माथि प्रश्न गर्नुभयो । ’यस्तो पनि कुनै एजेण्डा हुन्छ र ? गृह मन्त्रालयसँग सम्बन्धित कुन चाहिँ एजेण्डा हो त ?, त्यो त क्लियर हुनु पर्छ, अनि त्यही विषयमा छलफल हुन्थ्यो’, उहाँले भन्नुभयो ।
सभापति खतिवडाको बैठक राख्ने सो तरिका प्रति उहाँले गम्भीर आपत्ति जनाउनुभयो । ‘एक ठाउँबाट पसेर अर्को ठाउँबाट निस्कने थियो यो बैठकको उद्देश्य’ गुरुङले भन्नुभयो ।
राज्य व्यवस्था समिति जता मन लाग्यो त्यतै पसेर छलफल गर्ने ठाउँ नभएको उहाँले प्रष्ट पार्नुभयो । ‘आफ्नो कार्य क्षेत्र र अधिकार क्षेत्र बाहिर गएर यो समितिले छलफल चलाउने होइन’, गुरुङले भन्नुभयो ।
समितिका सभापति खतिवडाले सहकारी ठगी प्रकरणमा कारबाही गरिपाऊँ भन्ने सहकारी पीडितको निवेदन बुझ्नु भएको छ । उहाँले निवेदन आएकोले छलफल र आवश्यक कारबाहीको प्रक्रिया अघि बढ्ने प्रतिक्रिया यस अघि नै जनाई सक्नु भएको छ । त्यसैलाई लक्षित गर्दै गुरुङले सभापति खतिवडा आफ्नो कार्यक्षेत्र बाहिर पसेको बताउनुभएको हो ।
सहकारीको विषयको छलफल गर्ने हो भने सम्बन्धित विषयगत समितिमा छलफल हुनुपर्ने गुरुङले बताउनुभयो । अर्को समितिको विषमा छलफल गर्ने अधिकार राज्य व्यवस्था समितिलाई नभएको उहाँले प्रष्ट पार्नुभयो । आफ्नो रिस कहाँ छ, त्यही रिस पोख्ने थलो हो र यो ? होइन’, गुरुङले भन्नुभयो ।
छलफल बोल्दै गुरुङले यस अघिको बैठकमा सहकारी ठगी प्रकरणका प्रमुख व्यक्ति जीबी राई कहाँ छन् भन्ने विषयमा प्रश्न उठ्दा मलेसियामा छन् भन्ने जानकारी आएकोमा उनलाई समात्ने प्रक्रिया कहाँ पुग्यो ? भन्दै गृह मन्त्रीलाई प्रश्न गर्नुभयो ।
यसै गरी देशमा भ्रष्टाचार कुशासनको कारण भन्सार कार्यालय, सीमाका प्रहरी लगायत तस्करहरूको नियन्त्रणमा भएकाले ४६ प्रतिशत मात्र कर उठेको प्रति गृह मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । ‘त्यो सेटिङ भत्काउने कुनै काम भएको छ कि छैन ?’, उहाँले प्रश्न गर्नुभयो ।
