काठमाडौं । प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडूले बाँसबारी जुत्ता कारखानाको जग्गा प्रकरणमा केही मानिसलाई नियन्त्रणमा लिएर छोडियो भन्ने सुनिएको बताउँदै त्यसको छानबिन प्रक्रिया कहाँ पुग्यो भन्दै प्रश्न गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभा राज्य व्यवस्था समिति बैठकमा बोल्दै सो प्रकरणमा विनोद चौधरी माथि छानबिन हुँदै छ भन्ने पत्र सभामुखलाई कुन कानुनमा टेकेर दिइयो ? भन्दै उहाँले गृह प्रशासनलाई प्रश्न गर्नुभयो । ‘विनोद चौधरीमाथि छानबिन हुँदै छ भनेर एउटा पत्र सभामुखलाई दिइएको खबर आयो, पत्रपत्रिकामा पनि आयो, यो किन दिइयो र कुन कानुनले दिइयो ?’ उहाँले प्रश्न गर्नुभयो ।
गम्भीर प्रकृतिका फौजदारी अभियोगमा सांसदलाई समातियो भने मात्रै सभामुखलाई जानकारी गराउने व्यवस्था संविधानले गरेको उहाँले बताउनुभयो । ‘कानुन विपरीत कसरी विनोद चौधरीलाई पत्र लेखियो ? कसैको मान हानी गर्ने काम किन गरियो, त्यो कुन संविधानको धारामा लेखिएको छ ? यो कुनै पूर्वाग्रही ढङ्गले गरिएको त होइन ?’ उहाँले प्रश्न गर्नुभयो ।
बडूले सुन तस्करी प्रकरणको गृह मन्त्रालयमा बुझाइएको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गर्नुभयो । सो प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनको प्रक्रियामा जान उहाँले आग्रह गर्नुभयो । ‘प्रतिवेदनमा के थियो सार्वजनिक भएको छैन, सार्वजनिक भएको भए कार्यान्वयन भए नभएको मापन हुने थियो’, उहाँले भन्नुभयो ।
डुबेका सहकारीबाट पैसा निकाल्ने र आफ्नो खातामा रकम जम्मा गर्ने व्यक्ति नेपालका गृह मन्त्री रवि लामिछाने वा सोही नाम गरेको अर्को कुनै व्यक्ति हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । बडूले पोखरा बुटवल लगायतका सहकारीबाट १० करोड रुपैँया ग्यालेक्सी टिभी सञ्चालनका लागि खर्च गरिएको भन्ने कुरा आएको बताउनुभयो । ‘को व्यक्ति हुन् भन्ने थाहा छैन, रवि लामिछानेको खातामा जम्मा भएको भन्ने सुनिएको छ, नाम मात्रैको रवि लामिछाने हो कि अहिलेको गृहमन्त्रीको नाम पनि रवि लामिछाने नै हो ?’ बडूले प्रश्न गर्नुभयो ।
सहकारी पीडितको गुनासो लामो समयदेखि आइरहेकोले त्यसमा छानबिन गरी आवश्यक सम्बोधन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यस विषयमा गम्भीर हुन उहाँले गृह मन्त्री र गृह प्रशासनलाई आग्रह गर्नुभयो । नागरिकले सहकारीमा जम्मा भएको रकम फिर्ता हुनुपर्ने उहाँले बताउनुभयो ।
