काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकार विधिको शासनबाट बाहिर नजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभा राज्य व्यवस्था समिति बैठकमा बोल्दै लामिछानेले पहिला सुन्ने र त्यस पछि मात्र थुन्ने नीति सरकाले लिएको बताउनुभयो । आफूले कसैसँग पनि राजनीतिक आग्रह, पूर्वाग्रह नराख्ने उहाँले बताउनुभयो । आफ्नो यात्रा लामो भएकाले यस्ता कुरामा नअल्झिने उहाँले प्रष्ट पार्नुभयो । ‘यहाँहरू यसमा निर्धक्क हुनुहोला’, उहाँले भन्नुभयो ।
दुर्गा प्रसाईँको हतियार प्रकरणमा कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरिएको पाइएको उहाँले बताउनुभयो । सो विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । एउटा व्यक्तिले अनुमति लिए पनि सो हतियार अर्को व्यक्तिको हातमा भएको उहाँले प्रष्ट पार्नुभयो ।
दशगजामा संरचना बनेका विषयमा भारतसँग कुरा भइरहेको उहाँले बताउनुभयो । सो समस्या तत्काल समाधान गरिने उहाँले जानकारी दिनुभयो ।
प्रहरीमा उजुरी दर्ताको प्रक्रियामा धेरै गुनासो आएकाले त्यसको सोझै जानकारी आउने संयन्त्र निर्माण गर्न आफूले खोजेको लामिछानेले बताउनुभयो । प्रविधिको प्रयोग गरी सोझै गृह मन्त्रीसम्म पुग्ने संयन्त्र निर्माणको अन्तिम तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
सुविधाका नाममा राष्ट्रसेवक प्रहरी कसैको लुगा धोएर वा भाँड माझेर नबस्ने उहाँले प्रष्ट पार्नुभयो । तर कसैलाई सुरक्षा चुनौती भएको अवस्थामा प्रहरीले सुरक्षा दिने लामिछानेले बताउनुभयो ।
रात्रिकालीन व्यवसाय सञ्चालन आवश्यकता नै बनेको उहाँले बताउनुभयो । नेपालमा आन्तरिक उड्डयन समेत रात्रीकालमा चल्न लागेकाले खान र बस्नको लागि पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । सुरक्षाको पूर्ण ग्यारेन्टी सहित रात्रिकालीन व्यवसाय सञ्चालन गरिने उहाँले आश्वासन दिनुभयो ।
विनोद चौधरीलाई बयान लिने कुराको पत्र सभामुखलाई दिनु कुनै राजनीतिक पूर्वाग्रह नभएको उहाँले बताउनुभयो । प्रतिनिधि सभा सदस्य माथि बयान लिन लागेको कुराको सभामुखलाई जानकारी दिनु राम्रो हुन्छ भनेर उहाँलाई जानकारी दिएको लामिछानेले बताउनुभयो ।
सहकारी प्रकरणमा आफ्नो नाम बाहेक केही पनि नभएको उहाँले बताउनुभयो । सो सहकारीमा आफ्नो कुनै हस्ताक्षर नभएको उहाँले जानकारी दिनुभयो । सहकारी ठगी प्रकरणको मुद्दा अदालतमा दर्ता भइसकेको र त्यसको अभियुक्तमा आफ्नो नाम नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘त्यो म सरकारमा आउनुभन्दा धेरै अगाडिको कुरा, मुद्दा दर्ता भइसकेको कुरा हो’,उहाँले भन्नुभयो ।
उहाँले भ्रष्टाचारका विषय जुनसुकै कालखण्डका भए पनि नछाड्ने बताउनुभयो । तर यसका लागि समय लाग्ने उहाँले प्रष्ट पार्नुभयो ।
सरकारले कसैलाई पनि समाएर नछाड्ने बताउनुभयो । अपराधमा संलग्न कुनै पनि मानिसलाई छाड्नु पर्ने स्थिति आयो भने आफूले गृह मन्त्री पद नै छाड्ने उहाँले बचन दिनुभयो ।
निर्मला पन्त हत्याको घटना अहिले पनि अनुसन्धानकै क्रममा रहेको उहाँले जानकारी दिनुभयो । तर पहिला केही गल्ती भएकाले अनुसन्धान प्रक्रिया निक्कै जटिल बनेको उहाँले बताउनुभयो ।
सुन तस्करी घटनाको प्रतिवेदन सार्वजनिक गर्न कुनै समस्या नभए पनि तत्काल सार्वजनिक गर्दा राज्यका ग्याप तस्करले पत्ता लगाई भाग्ने वा प्रमाण लुकाउने डर भएकाले प्रतिवेदन सार्वजनिक नगरिएको उहाँले बताउनुभयो । समय आएपछि सो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक हुने उहाँले आश्वासन दिनुभयो ।
