काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी ठगी काण्डमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध कुनै तथ्य प्रमाण नभेटिएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बाेल्दै आईजीपी कुँवरले लामिछानेबारे ठाडाे उजुरी दर्ता भएकाे तर कुनै तथ्य प्रमाण फेला नपरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'यस विषयमा ठाडाे उजुरीका रुपमा इस्यु आएकाे छ, कानुनकाे दायरामा ल्याउनुपर्ने केही पनि छैन, अहिलेसम्म रवि लामिछानेकाे विषयमा कुनै तथ्य प्रमाणमा कुनै पनि आधार देखिँदैन ।'
सूर्यदर्शन सहकारीका ५ जना थुनामा रहेकाे र १५ जना फरार रहेकाे भन्दै उहाँले अहिले जिबि राईकाे कुरा मुख्य रहेकाे बताउनुभयाे । सहकारी काण्डकाे मुख्य व्यक्ति नै राई भएकाे बताउँदै आईजीपी कुवँरले राई मलेसियामा रहेकाे तर सपुर्दगी सन्धि नहुँदा उनलाई नेपाल ल्याउन गाह्राे भएकाे बताउनुभयाे ।
राईकाे विषयमा आफूहरु संवेदनशील रहेकाे भन्दै उहाँले राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भइसकेकाे बताउनुभयाे । 'जिबि राईकाे विषयमा हामी संवेदनशिल छाैं, सबै इस्यूको मेन जड त्यही हो भन्ने लाग्छ, उनलाई ल्याउने प्रयास गरिरहेका छौं, उनी मलेसियामा छन् भन्ने छ, तर मलेसियासँग सपुर्दगी सन्धि छैन, मुलुकी अपराध संहिताले पनि एमएलए गर भन्छ, मलेसिया सरकारले सपुर्दगीको रिक्वेस्टका रूपमा पत्र पठाउन भनेपछि परराष्ट्र मन्त्रालयमार्फत पठाइसकेका छौं'- आईजीपी कुँवरले भन्नुभयाे ।
रेड नाेटिस जारी हुँदा पनि, पत्र पुग्दा पनि सर्पुदगी सन्धि नभएकाले राईलाई डिपोर्ट गर्न मलेसिया सरकार बाध्य नभएको उहाँले बताउनुभयाे । यस विषयमा परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासले पनि काम गरिरहेको आईजीपी कुँवरले बताउनुभयाे । जघन्य अपराध नभएर फाइनान्सियल अपराध भएकाले मलेसिया वाध्य नभएकाे आशंका देखिएकाे भन्दै उहाँले आफूले पनि यस विषयमा पहल गरिरहेकाे बताउनुभयाे ।
सांसद् विनोद चौधरीको पासपोर्ट सिज नगरिएको र एक दिनमा नै बयान सकिने भएकाले प्रक्राउ नगरिएको आईजीपी कुवँरले स्पष्ट पार्नुभयो ।यसमा संवेदनशील बनेर नै विनाेद चाैधरीबारे अनुसन्धान भइरहेकाे छ भनेर संसद् सचिवालयलाई जानकारी गराएकाे स्पष्ट पार्दै उहाँले सचिवालयलाई यसाे गर उसाे गर चाहिँ प्रहरीले नभनेकाे बताउनुभयाे ।
जाँचबुझ आयाेगकाे प्रतिवेदन कार्यान्वयनकै लागि कृष्णबहादुर महरालाई पक्राउ गरेर बयान लिइएकाे आईजीपी कुँवरले बताउनुभयाे ।अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गरिएकाे र स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छाडिएकाे उहाँले बताउनुभयाे ।
