काठमाडाैं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानमा सहयोग नगर्ने देखिएपछि पक्राउ गरिएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे राज्यव्यवस्था तथा सुशासन समितिकाे बैठकमा बाेल्दै आईजीपी कुँवरले पीएसओ र गाडी छोडेर हिँडेपछि शंका उत्पन्न भएकाले महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएकाे स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयाे - 'भेप केसमा सुरुदेखि नै आएको थियो, पछि जाँचबुझ आयोगको प्रतिवेदन आएपछि कार्यान्वयन गर्ने सिलसिलामा संवेदशील भएर प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू समेत बस्यौँ र कानुनी दायरामा ल्याउनुपर्छ भन्ने हिसाबले गयौँ, त्यतिबेला उहाँले पीएसओ र गाडी छाडेर हिँड्नुभाछ, याे सम्मकाे संकेत गरेपछि पक्राउ गर्याैं ।'
अदालतले नै अस्पतालमा राखेर अनुसन्धान गर्नु भनेकाे र बयान सकेपछि स्वास्थ्यको जटिलता हेरेर मात्र महरालाई हाजिरी जमानीमा छोडिएको आईजीपी कुँवरले बताउनुभयाे । 'धेरै कुरा पहिले अनुसन्धान भइसकेका विषय थिए, आयाेगले औँल्याएका कुरालाई स्पष्ट पार्ने कुरा थिए, हामीले स्पष्ट गर्याैं, परीआएकाे अवस्थामा पछि हदम्याद गर्न सकिने अवस्था छ, सम्मानित अदालतले पनि उहाँकाे स्वास्थ्य अवस्था हेरेर अस्पतालमै राखेर कारबाही अगाडि बढाउनु भन्याे, हाम्राे हिरासतामा बस्दाबस्दै अर्काे घटना हुनसक्ने देखेर तारेखमा राखेर अनुसन्धान भन्ने गर्याैं'- उहाँले भन्नुभयाे ।
यस विषयमा कुनै दबाब र प्रभावमा नपरेकाे प्रष्ट पार्दै आईजीपी कुँवरले सुनेर थुन्ने भन्ने सिद्धान्त आफूहरुकाे रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'यसमा कुनै दबाब प्रभाव यसाे र उसाे भन्ने हुँदै हाेइन, यस्ताे हकमा हामी लिवरल छाैं, हामी तथ्यका आधारमा अनुसन्धान गर्छाैं, प्रभाव दबाबका आधारमा हाेइन,सुनेर थुन्ने भन्ने सिद्धान्त हाम्राे हाे ।'
