काठमाडाैं । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले देशकै दाेस्राे अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठककाे प्रादेशिक सरोकार समयमा बोल्दै नेकपा एमालेकी सांसद् घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
साे विमानस्थल निर्माणमा अर्बौं खर्च भइसकेको भन्दै उहाँले हवाइ रुट नपाएको कारण विमानस्थल बन्द हुनुपर्ने अवस्था आएकाे बताउनुभयाे । 'यसलाई कूटनीतिक पहल गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु'- सांसद् घिमिरेले भन्नुभयाे ।
अर्घाखाँचीकाे शितगंगा नगरपालिकाकाे सेवाप्रवाहलाई सहज बनाउनतर्फ ध्यान दिन पनि सांसद् घिमिरेले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
झिम्रुक र रिडी हाडड्राे पावर र बुटवल पावर कम्पनीबाट विद्युत उत्पादन भइरहेकाे उहाँले बताउनुभयाे । पर्याप्त मात्रामा सिंचाइ पुर्याउन सके सिंगाे देशलाई खान पुग्ने खेतीयाेग्य जमिन भएकाे सांसद् घिमिरेले बताउनुभयाे ।
चर्चामा रहेका कालीगण्डकी र राप्ती नदीको पानीलाई विद्युत् उत्पादनसँगै सिँचाइमा प्रयोग गर्न सक्दा रूपन्देही र कपिलवस्तुका अधिकांश जमिनमा सिँचाइ हुने उहाँले बताउनुभयाे । सिक्टा सिँचाइ आयोजना सञ्चालनमा आउन सक्दा बाँके र बर्दियाका हजारौँ बिघा जमिन सिँचाइ हुन सक्ने सांसद् घिमिरेले बताउनुभयाे ।
नारायणगढ-बुटवल सडक खण्ड निर्माणकाे काम चाँडाे सक्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयाे । नाैमुरे आयाेजनाकाे काम पनि अघि बढाउन सांसद् घिमिरे माग गर्नुभयाे । साे आयाेजनाबाट कपिलवस्तु, अर्घखाँची र दाङका बासिन्दा लाभान्वित हुने उहाँले बताउनुभयाे ।
एेतिहासिक धराेहरका रुपमा रहेकाे शिवगढी र जितगढी किल्लाकाे व्यवस्थापन, संरक्षण र प्रचारप्रसार गर्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
लुम्बिनी प्रदेश हिमाल, पहाड र हिमाल छाेएकाे प्रदेश रहेकाे सांसद् घिमिरेले बताउनुभयाे । लुम्बिनी प्रदेश भगवान् गाैतमबुद्धकाे जन्मस्थल लुम्बिनी, सुपादेउराली लगायत हजाराैं धार्मिक, पर्यटकीय र एेतिहासिक धराेहर भएकाे प्रदेश भएकाे सांसद् घिमिरेले बताउनुभयाे ।
लुम्बिनी बाैद्ध र संस्कृत विश्वविद्यालय भएकाे प्रदेश रहेकाे उहाँले बताउनुभयाे ।
