काठमाडौं । प्रतिनिधि सभा सदस्य रमा कोइराला पौडेलले युक्रेन र रसियन सेनामा भर्ना भएका युवालाई स्वदेश फर्काउनु पर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै युद्धग्रस्त देशमा श्रमिक पठाउने काम सरकारले बन्द गर्नुपर्ने उहाँले बताउनुभयो । ‘युद्धग्रस्त क्षेत्रमा गएर लडिदेऊ भनेर पठाउने परम्परा के हो यो’, उहाँले भन्नुभयो ।
पछिल्लो समय ठाउँ ठाउँमा युवतीहरूको हत्या गरिएको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो । यसमा सरकार र गृह मन्त्रीले के गरिरहनुभएको छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
सभामुख नेतृत्वमा कार्यक्रममा भाग लिन जाने टोलीमा एकतिहाइ महिला नलगेको भन्दै उहाँले आलोचना गर्नुभयो । ६ जनाको टोलीमा एक जना मात्र महिला र संसद्का कर्मचारी एक जना पनि महिला सो कार्यक्रममा नलगिएको भन्दै उहाँले आलोचना गर्नुभयो । हरेक कार्यक्रम र भ्रमणमा महिलाको एकतिहाई सहभागिता गराउन उहाँले माग गर्नुभयो ।
सडक दुर्घटना दिनदिनै बढेका बताउँदै पौडेलले सडक र पूर्वाधार व्यवस्थापनका सरकारको ध्यानाकर्षण गराउनुभयो ।
