काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकार देश र जनता प्रति जिम्मेवार हुनु पर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पन्तले देशको स्वाधीनता, विकास, जनताको रक्षा, उद्योग र रोजगारीको विकासको लागि सरकार आवश्यक रहेको बताउनुभयो । ‘जसले जनतालाई कष्ट नपरोस् भनेर पहिले नै ध्यान दिन्छ’, उहाँले भन्नुभयो ।
नेपालको सडक क्षमता भन्दा बढी भार बोकेका भारतीय गाडीले नेपालको सडक ध्वस्त बनाएका पन्तले बताउनुभयो । भारतीय ट्रकको कारण सडक ध्वस्त भएको मात्र नभई नेपाली ट्रक र त्यसमा काम गर्ने मानिसले समेत रोजगारी गुमाउँदै गएका उहाँले जानकारी दिनुभयो । नेपालका २० हजार बढी ट्रक विस्थापित हुँदै जानलागेका कारण यसबाट ८० हजार मानिसले रोजगारी गुमाउने पन्तले बताउनुभयो ।
नेपालीको नै लगानी गरेको यति ठुलो व्यवसाय डुब्न लाग्दा पनि सरकार मौन रहेको उहाँले बताउनुभयो । यस्तो अवस्थामा सरको अभिभावकत्व दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालको ढुवानी उद्योग खतरामा परेको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । भारतीय ट्रकले जसरी नेपालमा सुविधा पाएका छन् नेपाली ट्रकले पनि भारतमा त्यस्तै सुविधा पाउनु पर्ने, अन्यथा भारतीय ट्रकलाई नेपालमा ७२ घण्टा रहन पाउने सुविधा कटौती गर्नुपर्नेमा उहाँले जाड दिनुभयो । ‘भारतमा हाम्रा ट्रक जान पाउँदैनन् भने भारतीय ट्रकलाई पनि हाम्रो देशमा आउन नदिऊँ’, पन्तले भन्नुभयो ।
