काठमाडौं । प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले प्रतिनिधि सभाले प्रभाकारी काम गर्न नसकेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पौडेलले विगतमा एकाध बाहेक एकले अर्कालाई कटाक्ष गर्ने बाहेक खासै काम गर्न नसकेको बताउनुभयो । ‘संविधानलाई कार्यान्वयन गर्ने कानुन बनाउन हामी सबै एक ठाउँमा उभिन जरुरी छ, यसमा कसैले बार्गेनिङ नगरौँ’, उहाँले भन्नुभयो ।
कतिपय कानुन नबन्दा तीन तहका सरकार प्रभावकारी रूपमा चल्न नसकेका उहाँले बताउनु भयो । ‘सदन कटाक्ष गर्ने थाले नबनोस्, सदन प्रभाकारी काम गर्ने थलो बनोस्’, पौडेलले भन्नुभयो ।
पौडेलले अहिले देशको आर्थिक अवस्था राम्रो नभएको बताउनुभयो । यसले नागरिकहरू विदेश पलायनको क्रम बढेको उहाँको भनाइ छ । जिम्मेवारीमा रहेका सबैले आफ्नो भूमिका प्रभावकारी रूपमा निभाउन नसक्दा यो अवस्था आएको पौडेलले बताउनुभयो ।
अहिले बैंकमा पैसा भए पनि लगानीकर्ताले बैंकबाट सहज रूपमा ऋण पाउन नसकेका उहाँले बताउनुभयो । बजारमा अहिले पनि पैसा नभएको उहाँले सुनाउनुभयो ।
देशलाई समृद्धिको बाटोमा अघि बढाउन मौलिक हक कार्यान्वयन, शिक्षा, स्वास्थ्य, रोजगारीका कुरा प्रभावकारी बनाउन नसक्ने हो भने देश बरबादी तर्फ जाने उहाँको भनाइ छ । देशका प्रमुख राजनीतिक कुरा होइन ठोस काममा नलाग्ने हो भने देशलाई उँभो लगाउन नसकिने उहाँको धारणा छ ।
