काठमाडौं । प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले पुष्पलाल लोकमार्गलाई पुष्पलालको जन्मथलो रामेछापको भँगेरी हुँदै लैजानु पर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै तामाङले पुष्पलालको जन्मथलो नछोई पुष्पलाल राजमार्ग लगिएको प्रति आपत्ति जनाउनुभयो । यस वर्षको बजेटमा पुष्पलालको जन्मथलो रामेछाप जोडेर पुष्पलाल राजमार्ग बनाउने गरी बजेट विनियोजन गर्न उहाँले माग गर्नुभयो ।
तामाङ मुग्लिङ–नारायणघाट सडकको वैकल्पिक सडक बनाउनु पर्ने पनि बताउनुभयो । सो सडकलाई दुईतर्फी बनाउन बजेट विनियोजन गर्नुपर्ने आवश्यकता तामाङले औँल्याउनुभयो ।
तामाङले अहिले सडक रहेको त्रिशूलीको पारीबाट अर्को सडक बनाई धादिङको गजुरी निकाल्नु पर्ने उहाँले सुझाव दिनुभयो । त्यसो गर्न सके एकतर्फी सडक सञ्चालन हुने र दुर्घटना कम हुने तामाङको भनाइ छ ।
उहाँले विकास बजेट विनियोजन प्रभावका आधारमा नगर्न पनि आग्रह गर्नुभयो । आवश्यकताको आधारमा बजेट विनियोजन नगर्ने हो भने प्रतिनिधि सभा सहज रूपमा सञ्चालन हुन नसक्ने अवस्था आउने तामाङले चेतावनी दिनुभयो ।
