काठमाडौं । प्रतिनिधि सभा सदस्य डाक्टर तोसिमा कार्कीले देशकै सबैभन्दा पुरानो र ठुलो अस्पताल वीर अस्पतालको अवस्था लथालिङ्ग भएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कार्कीले अघिल्ला स्वास्थ्य मन्त्रीले वीर अस्पताललाई भद्रगोल बनाएको बताउनुभयो । वीर अस्पतालमा अहिले जनशक्तिको अभाव र सेवा प्रवाहमा समस्या रहेको बताउनुभयो ।
अस्पतालका धेरै उपकरण बिग्रिएकाले अस्पतालले सेवा दिन नसकेको उहाँले बताउनुभयो । त्यसमाथि अघिल्ला स्वास्थ्य मन्त्रीले एकै पटक धेरै स्वास्थ्यकर्मी हटाउँदा सेवा प्रवाहमा थप सङ्कट उत्पन्न भएको उहाँको भनाइ छ ।
अघिल्लो स्वास्थ्य मन्त्रीले एकै पटक २ सय ७६ स्वास्थ्यकर्मी हटाएर वीर अस्पताललाई अलपत्र पार्ने काम गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । अहिले अस्पतालमा अप्रेसनको लागि डेट र आईसीयूको लागि बेड मिलाइदिनु पर्यो भनेर आउने फोनले हैरान पारेको उहाँले सुनाउनुभयो ।
उहाँले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्ति गरी सेवा प्रवाहलाई प्रभाकारी बनाउन माग गर्नुभयो । वीर अस्पतालमा ८ सय ३१ जनाको दरबन्दी स्वीकृत भएकोले सोही अनुसारका स्वास्थ्यकर्मी व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो ।
